वीरगञ्ज–१६ इनर्वामा जनमतको शक्ति प्रदर्शन: ओमप्रकाश सर्राफको घरदैलो तीव्र

8

वीरगञ्ज (पर्सा), फागुन १ – पर्सा क्षेत्र नं. १ मा जनमत पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सर्राफले चुनावी प्रचारलाई तीव्र बनाउँदै घरदैलो अभियानलाई निरन्तरता दिएका छन्। यसैक्रममा वीरगञ्ज महानगरपालिका वडा नं. १६ इनर्वामा आयोजित रात्रीसभा उल्लेख्य जनसहभागितासहित सम्पन्न भएको छ। स्थानीय बासिन्दाको बाक्लो उपस्थितिले चुनावी माहोल थप सक्रिय बनेको देखिएको थियो।

घरदैलो अभियानका क्रममा उम्मेदवार सर्राफले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको धारणा, अपेक्षा र स्थानीय समस्याबारे संवाद गरेका थिए। इनर्वाका बासिन्दाले शिक्षा, स्वास्थ्य, रोजगारी, सडक–नाला जस्ता आधारभूत पूर्वाधार तथा युवापुस्ताको भविष्यसँग जोडिएका विषय उठाएका थिए। सर्राफले यी विषयलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै “जनताको आवाज संसदसम्म पुर्‍याउने” अठोट दोहोर्‍याए।

रात्रीसभालाई सम्बोधन गर्दै उनले मधेशका मुद्दाहरू लामो समयदेखि ओझेलमा परेको उल्लेख गर्दै ती सवाललाई सम्बोधन गर्न जनमत पार्टी नै विकल्प रहेको बताए। “मधेशको नाममा ठूला आन्दोलन भए, धेरै राजनीतिक नारा उठे, तर आज पनि आधारभूत सवालहरू पूर्ण रूपमा सम्बोधन हुन सकेका छैनन्,” उनले भने। विजयी भएपछि पहिचान, प्रतिनिधित्व, विकास र अधिकारका विषय नीतिगत तहमा उठाउने र कार्यान्वयनमा जोड दिने प्रतिबद्धता उनले जनाए।

उनले विगतमा निर्वाचित केही प्रतिनिधिहरूले मधेशको नाममा राजनीति गर्दै व्यक्तिगत स्वार्थ साधेको आरोप लगाउँदै मतदातालाई सचेत रहन आग्रह गरे। “अब नाराभन्दा काम हेर्ने समय आएको छ,” उनले जोड दिए। स्पष्ट एजेण्डा, पारदर्शिता र जवाफदेहितालाई आफ्नो अभियानको आधार बनाएको उल्लेख गर्दै नयाँ सोच र कार्यशैलीको आवश्यकता औंल्याए।

रात्रीसभामा युवाहरूले रोजगारी, सीपमूलक तालिम र उद्यमशीलताका अवसरबारे प्रश्न उठाएका थिए। सर्राफले युवाकेन्द्रित नीति तथा कार्यक्रम ल्याउने योजना सुनाए। महिला सहभागीहरूले शिक्षा, स्वास्थ्य र स्वरोजगार प्रवर्द्धनका विषय उठाउँदै ठोस पहलको अपेक्षा राखेका थिए।

स्थानीय बुद्धिजीवीहरूले युवा उम्मेदवार, स्पष्ट एजेण्डा र मतदातासँग प्रत्यक्ष संवाद गर्ने शैलीका कारण सर्राफप्रति आकर्षण बढ्दै गएको टिप्पणी गरेका थिए। विगतमा निर्वाचित जनप्रतिनिधिले जनअपेक्षा अनुरूप काम गर्न नसकेको भन्दै विकल्पको खोजीमा रहेका मतदाताका लागि जनमत पार्टी र उम्मेदवार सर्राफ उपयुक्त विकल्प हुन सक्ने धारणा उनीहरूको थियो।

यसैबीच आज वीरगञ्ज महानगरपालिका वडा नं. ५ मा पनि घरदैलो कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यालाल प्रसाद, रम्भा मिश्र, समानुपातिक उम्मेदवार बबिता पुडासैनी, भुपेन्द्र साह, सिए देवराज, डा. मनोज साह, सत्युग साह, सुनिल गुप्ता, दिनानाथ साह, मुकेश यादव, नरेश राम, तुल्सी राम, अलि अकबर मिया, सिकेश महतो, निराजन कुशवाहा लगायत सयौंको उपस्थिति रहेको जनाइएको छ।

इनर्वाबाट सुरु भएको यो सक्रियता क्षेत्रका अन्य वडाहरूमा पनि निरन्तर जारी रहने जनमत पार्टीले जनाएको छ। घरदैलो र सभासमारोहले पर्सा क्षेत्र नं. १ मा चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको देखिएको छ।

Leave A Reply

Your email address will not be published.