वीरगञ्ज–२७ उदयपुर घुर्मीमा निःशुल्क महिला तथा बाल स्वास्थ्य शिविर सम्पन्न
वीरगञ्ज, पुस ३ ।
वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क महिला तथा बाल स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोगसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण र परामर्श सेवा प्रदान गरिएको थियो।
वडा नं. २७ का वडाध्यक्ष हृदय प्रसाद कुर्मीको समन्वय तथा सहयोगमा आयोजना गरिएको शिविर बिहान १० बजेदेखि सञ्चालन भएको थियो। शिविरबाट कुल १०७ जना महिला तथा बालबालिका लाभान्वित भएका छन्।
स्वास्थ्य शिविरमा रक्तचाप, रगतमा चिनीको मात्रा, तौल, उचाइ, बीएमआई तथा अक्सिजन स्याचुरेसन जस्ता प्रारम्भिक परीक्षणपछि विशेषज्ञ चिकित्सकद्वारा परामर्श सेवा प्रदान गरिएको थियो। सेवाको प्रभावकारी व्यवस्थापनका लागि दर्ता, प्रारम्भिक परीक्षण तथा चिकित्सक परामर्शका लागि छुट्टाछुट्टै कक्षको व्यवस्था गरिएको थियो।
शिविरमा वडा नं. २७ का वडाध्यक्ष हृदय प्रसाद कुर्मी, उदयपुर घुर्मी स्वास्थ्य चौकीका इन्चार्ज कृष्ण चन्द्र प्रसाद तथा नेशनल मेडिकल कलेजका मार्केटिङ म्यानेजर जितेश चन्द्र दासको उपस्थिति रहेको थियो।
चिकित्सकीय सेवामा बालरोग विशेषज्ञ डा. अशफाक अन्सारी र स्त्रीरोग विशेषज्ञ डा. रवि साहले प्रत्यक्ष रूपमा स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गर्नुभएको थियो।
कार्यक्रमका क्रममा वक्ताहरूले समुदायमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउनु प्रारम्भिक रोग पहिचान तथा जनस्वास्थ्य सुदृढीकरणका लागि अत्यन्त महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो। स्थानीयवासीहरूले यस्ता उपयोगी स्वास्थ्य शिविरको आयोजनाप्रति आयोजकप्रति आभार व्यक्त गरेका छन्।
आयोजक पक्षका अनुसार यस निःशुल्क स्वास्थ्य शिविरले महिला तथा बालस्वास्थ्य प्रवर्द्धन, जनचेतना अभिवृद्धि तथा आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।