वीरगन्जको नारायणी रंगशालाको पुनर्निर्माण कार्य सुरु
वीरगन्ज — वीरगन्ज स्थित देशकै दोस्रो ठूलो नारायणी रंगशालाको मर्मत र पुनर्निर्माणको काम बिहीबारबाट सुरु भएको छ। पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपककुमार कानुले बताएअनुसार, जीर्ण प्यारापिट भत्काएर नयाँ प्यारापिट निर्माण गर्ने पहिलो चरणको काम शुरु गरिएको छ।
यो कामका लागि चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटमा कांग्रेस–एमाले गठबन्धन सरकारले चार करोड रुपैयाँ विनियोजन गरेको थियो। कानुले भने, “यो रकमले सम्पूर्ण पुनर्निर्माण पुग्दैन, तर प्यारापिट निर्माणको काम तत्काल सुरु गरेका हौं, बाँकी कामका लागि थप बजेट माग गर्नेछौं।”
नियमित मर्मत नहुँदा वर्षौंदेखि जीर्ण अवस्थामा रहेको नारायणी रंगशाला ३५ हजार दर्शक क्षमताको छ र दशरथ रंगशालापछि दोस्रो ठूलो मानिन्छ। मधेस प्रदेश सरकारले पनि रंगशालालाई अन्तर्राष्ट्रिय स्तरसम्म स्तरोन्नती गर्ने योजना बनाएको छ।
२०४२ सालमा तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहले उद्घाटन गरेको नारायणी रंगशालामा करिब डेढ दशकअघिसम्म राष्ट्रिय खेलकुद प्रतियोगिता हुने गरेका थिए। मर्मतसम्भारको अभावले पछिल्ला वर्षमा यहाँ कुनै प्रतियोगिता हुन सकेको थिएन।