वीरगन्जमा घोडा दौड प्रतियोगिता सम्पन्न, भारतका मनोज यादवले जिते उपाधि
वीरगन्ज,(ब्रहम बाबा संचालक सेवा समिति नगवा र (बीपीं) कोइराला युवा नेतृत्व विकास मञ्चको आयोजनामा वीरगन्जको नगवा वडा नम्बर १६ मा घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा भारत, बिहार कोतवाका मनोज यादवले प्रथम स्थान हासिल गरे।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रभु चौरसियाले गरेका थिए। प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेस पर्साका अध्यक्ष तथा मधेस प्रदेशका भूमि व्यवस्थापन, कृषि र सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री उपस्थित थिए। विशिष्ट अतिथिहरूमा जिल्ला समन्वय समितिका अध्यक्ष अजय सराफ र वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम थिए।
उपमेयर आलमले भारतबाट सहभागी प्रतियोगीहरूलाई धन्यवाद दिँदै यस्ता लोपोन्मुख घोडा दौड प्रतियोगिताले नयाँ पुस्ता, सीमावर्ती क्षेत्र र विदेशी पर्यटकलाई आकर्षित गर्ने बताए। उनले आगामी दिनमा यो प्रतियोगितालाई थप भव्य बनाउन प्रचारप्रसारमा जोड दिँदै वीरगन्ज महानगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।
प्रतियोगितामा नेपाल र भारतका २० भन्दा बढी घोडाहरू सहभागी थिए। तीन चरणको दौडमा भारत, बिहारका मनोज यादव प्रथम, मोतिहारीका सोनु यादव द्वितीय र वीरगन्ज छपकैयाका बिचारी यादव तृतीय भए। विजेताहरूलाई शिल्ड र विभिन्न इलेक्ट्रोनिक सामग्री पुरस्कार प्रदान गरियो।
स्थानीयको बाक्लो उपस्थितिले प्रतियोगितालाई थप रोचक र उत्साहपूर्ण बनाएको थियो।