वीरगन्जमा सोमबार साँझदेखि कर्फ्यु, मंगलबार बिहान ८ बजेसम्म लागू
वीरगन्ज। जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि वीरगन्जमा कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार वीरगन्ज महानगरपालिकाका चारवटै दिशाका सिमाना तोकेर स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु लागू गरिएको हो।
जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनाअनुसार कर्फ्यु क्षेत्रको सिमाना पूर्वमा बाइपास रोड, पश्चिममा सिरिसिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेट तोकिएको छ।

कर्फ्यु अवधिभर कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ तथा सर्वसाधारणको आवतजावत पूर्ण रूपमा निषेध गरिएको प्रशासनले जनाएको छ। अत्यावश्यक काम बाहेक सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरिएको छ।
तर कर्फ्यु अवधिमा सुरक्षा निकायको समन्वयमा अत्यावश्यक सेवाका सवारी साधनहरू—जस्तै एम्बुलेन्स, दमकल, खानेपानी सेवा, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारी साधनलाई परिचय खुल्ने कागजातका आधारमा आवतजावत गर्न दिइने प्रशासनले स्पष्ट पारेको छ।
कर्फ्यु उल्लङ्घन गर्ने जो–कोहीलाई कानुन बमोजिम कारबाही गरिने चेतावनी दिँदै जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न सबै पक्षसँग सहयोगको अपिल गरेको छ।