वैष्णो देवी सहकारीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

40

 

पौस १९, वीरगञ्ज।

वीरगञ्ज महानगरपालिका–८ लिङ रोडमा अवस्थित वैष्णो देवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा आज वीरगञ्जस्थित होटल डायमण्डमा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष राम श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभामा अध्यक्ष श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै हाल संस्थामा सेयर सदस्य संख्या २ हजार २ सय ३५ पुगेको जानकारी दिनुभयो। उहाँले संस्थाले बचत तथा ऋण सेवालाई थप व्यवस्थित र पारदर्शी बनाउँदै अघि बढिरहेको बताउनुभयो।

कार्यक्रममा समितिको तर्फबाट संयोजक श्यामकुमार सिंह डंगोलले आर्थिक वर्ष ०८१/८२ को वार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष दीपक मान श्रेष्ठले संस्थाको आय–व्यय विवरण सार्वजनिक गर्नुभयो।

साधारण सभामा सञ्चालक समितिका सदस्यहरू सुमित गुप्ता, उत्तमकुमार कानु, रञ्जन अग्रसेन, रोशनी श्रेष्ठ, मधेस प्रदेशका उपाध्यक्ष पुरण प्रधान, हिसानका जिल्ला उपाध्यक्ष आलोक चौरासिया, प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तव, सदस्य विजयबल, लेखा समिति संयोजक श्यामकुमार सिंह डंगोल, लेखा परीक्षक अनिलकुमार कर्णसहित सेयर सदस्य तथा विभिन्न बचतकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

संस्थाका प्रबन्धक तथा कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुका साथै संस्थाको गतिविधिबारे जानकारी गराउँदै साना–साना पुँजी संकलन गरी बचतकर्तालाई समयमै बचत फिर्ता तथा आवश्यकताअनुसार ऋण लगानी गर्दै संस्था अघि बढिरहेको बताउनुभयो। उहाँले संस्थाले आर्थिक सेवासँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत सक्रिय भूमिका खेल्दै आइरहेको उल्लेख गर्नुभयो।

वर्तमान विषम आर्थिक परिस्थितिका बाबजुद पनि संस्थाले आफ्नो कारोबारलाई निरन्तरता दिँदै स्थायित्व र विश्वास कायम राखेको जानकारी सभामा उपस्थित सम्पूर्णलाई गराइएको थियो।

Leave A Reply

Your email address will not be published.