व्यवसायीको हकहित र संगठन सुदृढीकरणमा जोड दिँदै साधारण सभा सम्पन्न

52

वीरगञ्ज, पर्सा — पर्सा मदिरा व्यवसायी संघको प्रथम वार्षिक साधारण सभा संघको सञ्चालक समितिको निर्णयअनुसार आज वीरगञ्जको आदर्शनगरस्थित होटेल पुजनमा सम्पन्न भएको छ।

संघका अध्यक्ष चिनिलाल पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम तथा विशिष्ट अतिथि नेपाल बार इकाइ पर्साका अध्यक्ष रामनारायण कुर्मी रहनुभएको थियो। कार्यक्रममा संघका सल्लाहकार कपिलेश्वर यादव, पत्रकार तुलसी भण्डारीलगायत वक्ताहरूले संघको संरक्षण, संवर्द्धन, विकास तथा गोलबद्ध भएर संगठनात्मक रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै शुभकामना व्यक्त गर्नुभयो।

सभामा संघका उपाध्यक्ष सन्दीप गुप्ताले स्वागत मन्तव्य प्रस्तुत गर्नुभयो भने महासचिव प्रदीप लोहारले संगठनात्मक प्रतिवेदन पेश गर्नुभयो। त्यसैगरी कोषाध्यक्ष राकेश साहले आर्थिक वर्ष २०८०/८१ को आय–व्यय विवरण तथा लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

साधारण सभामा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि संघको नीति, कार्यक्रम तथा वार्षिक बजेट प्रस्तुत गरी छलफलपछि अनुमोदन गरिएको संघले जनाएको छ।

त्यस्तै सभामा संघको दर्ता नवीकरण, नयाँ लेखापरीक्षक नियुक्ति, विभिन्न समितिमा रिक्त पद पूर्ति, आवश्यक परे विधान संशोधन तथा संगठनात्मक सुदृढीकरणसम्बन्धी प्रस्तावहरू पेश गरी छलफल गरिएको थियो। मदिरा व्यवसायसँग सम्बन्धित समसामयिक समस्या, कर प्रणाली, प्रशासनिक झन्झट, व्यवसायीहरूको हकहित संरक्षण तथा बजार व्यवस्थापनका विषयमा समेत विस्तृत छलफल भएको थियो।

सभाको बन्द सत्रबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। चयन हुनेमा अध्यक्ष चिनिलाल पटेल, उपाध्यक्ष सन्दीप कुमार गुप्ता, महासचिव प्रदीप कुमार लोहार, सचिव रविन्द्र प्रताप साह, कोषाध्यक्ष राकेश कुमार साह तथा सदस्यहरूमा मनिष प्रसाद कलवार, अनिल कुमार चापागाईं, राम कुमार यादव र रञ्जित जैसवाल रहेका छन्।

कार्यक्रममा सहभागी सबै सदस्य तथा प्रतिनिधिहरूलाई सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो। संघले यो वार्षिक साधारण सभालाई महत्वपूर्ण नीति निर्माणको अवसरका रूपमा लिएको जनाएको छ। सभाबाट व्यवसायीहरूको साझा आवाजलाई थप मजबुत बनाउँदै आगामी कार्यदिशा तय हुने विश्वास लिइएको छ।

Leave A Reply

Your email address will not be published.