शाइनिङ स्टार्स” कार्यक्रम दोस्रो दिन भव्य रूपमा सम्पन्न

11

वीरगञ्ज, ०८ फागुन — वीरगञ्जस्थित Gautam School द्वारा आयोजित “शाइनिङ स्टार्स” कार्यक्रमको दोस्रो दिन भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रम विद्यालयकी निर्देशिका परीक्षा पिया लामाको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि National Medical College का निर्देशक डा. इशरत जहान अन्सारी रहनुभएको थियो। विशिष्ट अतिथिहरूमा विद्यालयका डाइरेक्टर सोनम लामा, मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ता, Allied Youth Society का संस्थापक अध्यक्ष ओम कुमार झा, समाजसेवी प्रकाश थारु, विद्यालयका प्रिन्सिपल गणेश क्षेत्री, रमेश शर्मा, कर्ण सर तथा जुनियर स्कुलका प्रिन्सिपल सिपेन्द्र गुप्ता लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयका स–साना तथा प्रतिभाशाली विद्यार्थीहरूले नृत्य, गायन, कविता वाचन, नाटक तथा विविध सांस्कृतिक प्रस्तुति मार्फत आफ्नो कला र क्षमता प्रस्तुत गरेका थिए। रंगीन पोशाक, आकर्षक मञ्च सजावट र सजीव सांस्कृतिक वातावरणले कार्यक्रमलाई अझ विशेष बनाएको थियो। विद्यार्थीहरूको आत्मविश्वासपूर्ण प्रस्तुति, सृजनात्मक सोच र अनुशासित सहभागिताले उपस्थित अभिभावक तथा अतिथिहरूलाई मन्त्रमुग्ध बनाएको थियो।

प्रमुख अतिथि डा. अन्सारीले आफ्नो मन्तव्यमा शिक्षा केवल पाठ्यपुस्तकमै सीमित नहुने उल्लेख गर्दै यस्ता अतिरिक्त क्रियाकलापले बालबालिकाको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई अनुशासन, निरन्तर अभ्यास र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरित गर्नुभयो।

अन्य वक्ताहरूले पनि विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि सह–पाठ्यक्रम तथा अतिरिक्त क्रियाकलाप अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गरे। यस्ता कार्यक्रमले बालबालिकामा आत्मविश्वास वृद्धि गर्नुका साथै उनीहरूको अन्तरनिहित प्रतिभा उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याउने उनीहरूको भनाइ थियो।

कार्यक्रमको सञ्चालन विद्यालयका कोअर्डिनेटर सौराज प्रधानले प्रभावकारी ढंगले गर्नुभएको थियो। समग्रमा “शाइनिङ स्टार्स” कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका साथै विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाउन सफल भएको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.