शिक्षा र अतिरिक्त क्रियाकलापमा उत्कृष्टता: एसआर ग्यालेक्सीको २८ औँ वार्षिक समारोह सम्पन्न

35

वीरगञ्ज, फागुन १७ – एसआर ग्यालेक्सी एकेडेमी बोर्डिङ स्कुल, वीरगञ्ज महानगरपालिका–१३ को २८ औँ वार्षिक उत्सव समारोह आज एक भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ। विद्यालयकी सञ्चालिका श्रीमती रिना कुशवाहाको सभापतित्व तथा जिल्ला शिक्षा अधिकारी मोती भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि भट्टराईले विद्यालयले विगतका चुनौतीहरू पार गर्दै २८ औँ वर्षसम्मको सफल यात्रा तय गर्नु गौरवको विषय भएको उल्लेख गर्नुभयो। उहाँले शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै अभिभावक तथा समाजलाई प्रेरित गरिरहेको बताउनुभयो।

यसैगरी Private and Residential Schools Organisation Nepal (PABSON) महानगर अध्यक्ष राहुल श्रीवास्तवले विद्यालयले प्याब्सनसँग आबद्ध रहेर गुणस्तरीय शिक्षा र अतिरिक्त खेलकुद गतिविधिमा उल्लेखनीय सफलता हासिल गरेको भन्दै शिक्षक, शिक्षिका तथा अभिभावकप्रति आभार व्यक्त गर्नुभयो। आगामी दिनमा विद्यालय अझ उत्कृष्ट उपलब्धि हासिल गर्न सफल होस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभयो।

प्याब्सन महानगर सचिव अमित आलोकले प्याब्सनका हरेक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै विद्यार्थीहरूको क्षमता विकासमा विद्यालयले महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो। विद्यालयका प्रिन्सिपल शर्मानन्द कुशवाहा, शिक्षक–शिक्षिका तथा अभिभावकहरू यस सफलताका मुख्य आधारस्तम्भ भएको उहाँको भनाइ थियो।

कार्यक्रममा वीरगञ्ज महानगरपालिका शिक्षा महाशाखा प्रमुख आनन्द लामिछाने, प्याब्सन मधेश प्रदेश सल्लाहकार इमामुद्दिन अहमद, National Medical College का प्रिन्सिपल डा. रिभाशंकर गुप्ता, मानव सेवा आश्रम का केन्द्रीय सदस्य देवेश मानव, नेपाल रेड क्रस सोसाइटी का सभापति कमल चौगाईलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

सोही अवसरमा एसआर ग्यालेक्सी एकेडेमी प्लस–टु म्यानेजमेन्टको संयुक्त रूपमा उद्घाटन गरिएको जानकारी दिइएको छ। वार्षिक उत्सवका अवसरमा विद्यालयले शैक्षिक तथा खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरेको थियो।

Leave A Reply

Your email address will not be published.