शिक्षा विधेयकविरुद्ध गण्डक–घण्टाघर क्षेत्रमा निजी विद्यालयहरूको विरोध प्रदर्शन

26

वीरगञ्ज । शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकहरूको छाता संगठन प्याब्सन र एन–प्याब्सनले संयुक्त रूपमा गण्डक र घण्टाघर क्षेत्रमा विरोध प्रदर्शन गरेका छन् ।

मधेस प्रदेश प्याब्सनका उपाध्यक्ष पुरन प्रधानको नेतृत्वमा सम्पन्न विरोध कार्यक्रममा स्कुल बससहित रिंग रोड वरिपरि नगर परिक्रमा गरिँदै नाराबाजी गरिएको थियो । यस क्रममा विभिन्न विद्यालयका प्रिन्सिपल, सञ्चालक, शिक्षक तथा व्यवस्थापकको उल्लेखनीय सहभागिता रहेको थियो ।

विरोध कार्यक्रममा प्याब्सन मधेस प्रदेशका सल्लाहकार श्याम केसी, पर्सा सचिव अशोक संग्रोला, शिवजी गुप्ता, एन–प्याब्सन नगर अध्यक्ष जियालाल गुप्ता, प्याब्सन उपाध्यक्ष शर्मानन्द कुशवहा, मधेस प्रदेश सल्लाहकार मनि पाख्ररिङ लगायतको उपस्थिति थियो ।

प्याब्सन र एन–प्याब्सनले विधेयकप्रति असहमति जनाउँदै चार बुँदे माग अघि सारेका छन्—

  • निजी विद्यालयलाई गैरनाफामूलक रूपान्तरण गर्ने प्रावधान हटाउनुपर्ने,

  • “पूर्ण छात्रवृत्ति” शब्दावली खारेज गर्नुपर्ने,

  • हाल कायम रहेको १०% छात्रवृत्ति प्रणालीलाई निरन्तरता दिनुपर्ने,

  • छात्रवृत्तिसम्बन्धी शुल्क संरचना यथावत् राखिनुपर्ने ।

 

संघसंस्थाले शिक्षा सुधार संवाद र सहकार्यमार्फत् मात्र सम्भव हुने भन्दै सरकारलाई विधेयक पुनर्विचार गर्न आग्रह गरेका छन् । उनीहरूले निजी क्षेत्रको योगदानलाई विधेयकले अवमूल्यन गरेको भन्दै देशभर चरणबद्ध रूपमा आन्दोलन अघि बढाइने चेतावनी पनि दिएका छन् ।

Leave A Reply

Your email address will not be published.