शीतलहरबाट राहत दिन वीरगञ्ज–१० मा दुई दर्जन स्थानमा आगो ताप्ने व्यवस्था
वीरगञ्ज, १३ पुस ।
आनन्द पटेल
वीरगञ्जमा पछिल्ला केही दिनदेखि बढेको कठ्याङ्ग्रिँदो चिसो र शीतलहरका कारण जनजीवन अत्यन्त कष्टकर बनेको छ। बिहान र साँझको अत्यधिक चिसोले दैनिक मजदुरी गर्ने श्रमिक, रिक्सा चालक, सुरक्षाकर्मी तथा सर्वसाधारणलाई प्रत्यक्ष असर पारेको छ।
यस अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील कुमार कानुले वडावासीलाई राहत दिने उद्देश्यले मानवीय पहल सुरु गरेका छन्। वडाध्यक्ष कानुको नेतृत्वमा आइतबारदेखि वडाभित्रका दुई दर्जनभन्दा बढी स्थानमा दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाइएको छ। शीतलहरको असर नघटेसम्म यो व्यवस्था निरन्तर सञ्चालन हुने जनाइएको छ।
वडाध्यक्ष कानुका अनुसार विशेषगरी बाहिर बसेर काम गर्नुपर्ने मजदुर, रिक्सा चालक, सुरक्षाकर्मी तथा सर्वसाधारणलाई लक्षित गरी आगो ताप्ने व्यवस्था गरिएको हो। ठाकुरराम क्याम्पस अगाडि, सत्या हल अगाडि, घडिअर्वा चोक, बाबा मठिया चोक, बनारसी चोक, वर्णवाल चोक, अशोक वाटिका चोक, रानीघाट चोक, घडिअर्वा गाउँको इनार अगाडि, प्रहरी चौकी अगाडि, कुमारी माई मन्दिर अगाडि, कर कार्यालय अगाडि, होली ल्यान्ड स्कुल अगाडि लगायत वडाका विभिन्न दुई दर्जनभन्दा बढी स्थानमा आगो ताप्ने व्यवस्था गरिएको छ।
“चिसोका कारण वडावासीहरू निकै पीडित छन्। उनीहरूको दैनिक जीवन सहज बनाउन र स्वास्थ्य सुरक्षाका लागि हामीले आगो ताप्ने व्यवस्था मिलाएका हौं,” वडाध्यक्ष कानुले बताए।
उनको यो पहललाई निरन्तर जनसेवाको उत्कृष्ट उदाहरणका रूपमा लिइएको छ। अघिल्ला वर्षहरूमा पनि यस्ता मानवीय कार्य गर्दै आएका वडाध्यक्ष कानुको यस वर्षको संवेदनशील निर्णयबाट सयौँ सर्वसाधारणले राहत पाएका छन्। स्थानीयवासीहरूले उनको कार्यको खुलेर प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन्।
वडाध्यक्ष सुशील कुमार कानु जस्ता जनप्रतिनिधिहरूले जनताको सुख–दुःखमा प्रत्यक्ष साथ दिने यस्ता कार्यहरू प्रशंसनीय रहेको स्थानीयहरूको भनाइ छ। यस्ता मानवीय पहलले स्थानीय सरकारप्रति जनताको विश्वास अझ मजबुत बनाउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिएको छ।