सगरमाथा एकेडेमी वीरगञ्जमा नव-निर्वाचित विद्यार्थी प्रतिनिधिहरुलाई भेष्ट र ब्याच वितरण
वीरगञ्ज – वीरगञ्ज–१२ टोलमा अवस्थित सगरमाथा एकेडेमीमा विशेष कार्यक्रमका साथ नव-निर्वाचित विद्यार्थी प्रतिनिधिहरुलाई औपचारिक रुपमा भेष्ट, ब्याच, खादा र फ्लेक्स बोर्ड प्रदान गरिएको छ। २०८२ जेठ २० गते (शुक्रबार) सम्पन्न विद्यार्थी परिषद् निर्वाचन २०८२ मार्फत चयन गरिएका विद्यार्थीहरुलाई मंगलबार एक भव्य समारोहका बीच सम्मान गरिएको हो।
कार्यक्रमको सभापतित्व विद्यालयका प्रधानाध्यापक श्री जियालाल गुप्ता ज्यूले गर्नुभयो। प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका शिक्षा शाखाका प्रमुख श्री आनन्द लामिछाने रहनु भएको थियो। कार्यक्रममा विशिष्ट अतिथिहरुमा नेशनल प्याब्सनका केन्द्रीय सदस्य श्री अरविन्द सिंह, प्याब्सन नगर सचिव शेख अजहर, पत्रकार दिपु वर्णवाल, पर्सा ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ सहायक निरीक्षक श्री गुणनिधि खकुलेर, र प्याब्सनका नगर अध्यक्ष राहुल श्रीवास्तवज्यू लगायत अभिभावक, शिक्षक/शिक्षिका तथा विद्यार्थीको उपस्थिति रहेको थियो।
कार्यक्रमका संयोजक विद्यालयका शिक्षक श्री संजीव यादव रहनु भएको थियो।
कार्यक्रमका संयोजक संजीव यादवको अनुसार कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुमध्येबाट २२ जनालाई कक्षा मनिटर र सहायक मनिटरको रूपमा चयन गरिएको छ। उहाँले भन्नुभयो, “विद्यार्थीहरूमा नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले हामीले यो प्रणाली अपनाएका हौं। चुनावी प्रक्रियामा शैक्षिक प्रगति, अनुशासन, सामाजिक सीप र शिक्षकको सिफारिसलाई आधार बनाइएको हो।”
नवनियुक्त प्रतिनिधिहरूमा हेड ब्वाय/गर्ल, डिपुटी हेड ब्वाय/गर्ल, कार्यक्रम संयोजक, अतिरिक्त क्रियाकलाप (ECA) संयोजक, अनुशासन संयोजक, साथै विभिन्न हाउस क्याप्टेन/भाइस क्याप्टेन हरू रहेका छन्। उनीहरूले आफ्नो जिम्मेवारीप्रति उत्साह व्यक्त गर्दै विद्यालय प्रशासन र विद्यार्थीहरूबीच सेतुको रूपमा काम गर्ने प्रतिवद्धता जनाएका छन्।
सगरमाथा एकेडेमीले विगत १६ वर्षदेखि वीरगञ्जमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। विद्यालयले शैक्षिक उत्कृष्टतासँगै, असल संस्कार, अनुशासन, नैतिक शिक्षा, पारिवारिक र सामाजिक जिम्मेवारीका कुरामा पनि विशेष ध्यान दिँदै आएको छ।