सतिश पटेलद्वारा सञ्चालित क्रिएटिभ कोचिङमा SEE विद्यार्थीलाई भव्य बिदाइ
वीरगञ्ज, चैत २८ — (आनन्द पटेल) क्रिएटिभ कोचिङ सेन्टरले कक्षा १० को SEE परीक्षा दिएका विद्यार्थीहरूको बिदाइ (फेयरवेल) कार्यक्रम शनिबार सम्पन्न गरेको छ। परवानीपुर गाउँपालिका–५ बहुअरीस्थित प्रकाशनगरमा रहेको कोचिङ सेन्टरको सभा हलमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रशासकीय अधिकृत तथा समाजसेवी शिवशंकर पटेलले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै युवा पुस्ताले अब देश हाँक्ने अवसर पाएकोमा खुशी व्यक्त गरे। उनले छोटो समयमा राम्रो सफलता हासिल गरेको भन्दै कोचिङका सञ्चालक सतिश पटेललाई बधाईसमेत दिए।

वडा नं. ५ का अध्यक्ष रामेश्वर साह कलवारले आफ्नै वडामा गुणस्तरीय शिक्षाको व्यवस्था भएकोमा खुशी व्यक्त गर्दै कोचिङ सेन्टरको प्रशंसा गरे। उनले मेहनत र लगनशीलताका साथ विद्यार्थीलाई शिक्षा प्रदान गरेको भन्दै उज्ज्वल भविष्यको कामना गरे।
वडा सदस्य दारा सिंह पटेलले विद्यार्थीलाई शिक्षा सँगसँगै अभिभावकको मिहिनेतको सम्मान गर्न आग्रह गरे भने प्राध्यापक श्याम रामले SEE दिएका विद्यार्थीलाई राम्रो नतिजाको शुभकामना दिँदै कक्षा ११ (+२) का लागि उपयुक्त कलेज र विषय छनोट गर्न सुझाव दिए।

कार्यक्रममा शिक्षक, समाजसेवी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यार्थीहरूले कोचिङमा सिकेका अनुभव र शिक्षक सतिश पटेलको पढाउने शैलीको खुलेर प्रशंसा गरेका थिए। साथै, सांस्कृतिक नृत्य, गीत तथा आफ्ना अनुभवहरू प्रस्तुत गरेका थिए।
सञ्चालक सतिश पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले कोचिङ सेन्टरलाई अझ उच्च स्तरमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा अभिभावक रामेश्वर पटेल, जेन्जी पर्साका संयोजक महादेव कुर्मी, शिक्षक सनी पासवान, मुन्ना पटेल लगायतको उपस्थिति रहेको थियो।