सनलाइट कलेजमा उत्साहपूर्ण स्वागत, विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना

5

वीरगञ्ज – Sunlight Collegeमा नयाँ शैक्षिक सत्रका लागि भर्ना भएका BBA र BCA कार्यक्रमका विद्यार्थीहरूलाई आज भव्यरूपमा स्वागत गरिएको छ। स्थानीय होटल हिस्सामा आयोजित स्वागत समारोह क्याम्पस प्रमुख **धनञ्जय चौरसिया (डिके)**को सभापतित्व तथा प्राध्यापक इन्दु शेखर मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मिश्रले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। उनले विद्यार्थीहरूको भविष्य निर्धारण उनीहरू स्वयंले गर्नुपर्ने उल्लेख गर्दै सफलताका लागि अनुशासन, परिश्रम र स्पष्ट लक्ष्य आवश्यक हुने बताए। उनले भने, “विद्यार्थी मात्र भएर हुँदैन, शिक्षक–शिक्षिका र व्यवस्थापनको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ। यी सबै पक्ष सन्तुलित भए कलेज सुन्दर र सफल बन्छ।”

क्याम्पस प्रमुख धनञ्जय चौरसियाले नवप्रवेशी विद्यार्थीहरूलाई खादा ओढाई स्वागत गर्दै सनलाइट कलेजले गुणस्तरीय शिक्षामा सदैव प्राथमिकता दिएको बताए। प्रमुख अतिथि मिश्रले विद्यार्थीहरूलाई कलेजको नाम कहिल्यै बदनाम नगर्न आग्रह गर्दै राम्रो कलेज रोज्न सफल भएकोमा बधाई तथा शुभकामना व्यक्त गरे। उनले आगामी दिनमा कलेजको प्रतिष्ठा अझ उचाइमा पुर्‍याउँदै अभिभावकको चाहना र भावनालाई सम्मान गर्दै अघि बढ्न विद्यार्थीहरूलाई अपिल गरे।

उनले सनलाइट कलेजमा दक्ष प्राध्यापकहरूको टोली रहेको उल्लेख गर्दै जहाँ गए पनि “म सनलाइट कलेजको विद्यार्थी हुँ” भनेर गर्वका साथ चिनिन सक्ने वातावरण सिर्जना गर्न आग्रह गरे।

स्वागत समारोहमा प्लस टु कलेजका प्रिन्सिपल आलोक चौरसिया, इन्जिनियर रङराजन चौरसिया, सन्तोष यादव, वीरबहादुर पण्डित, प्रेमचन्द्र जयसवाल, बसन्त ओझा, सुधिर प्रजापति, सुमेश्वर प्रसाद शाह, एलिना सोरेन, सोनिया शाह, सन्तोष पटेल, विशाल कुमार शाहलगायत शिक्षक–शिक्षिका तथा कक्षा ११ र १२ का विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको कलेज प्रशासनले जनाएको छ।

Leave A Reply

Your email address will not be published.