जिल्ला प्रशासन कार्यालय पर्साको प्राङ्गणमा भाडामा लगाइएका कोठाहरु खाली गर्न ३५ दिने अल्टिमेटम
जिल्ला प्रशासन कार्यालय पर्साको प्राङ्गणमा भाडामा लगाइएका कोठाहरु खाली गर्न ३५ दिने सूचना जारी गरिएको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीले गत शुक्रबार जारी गरेको सूचनामा भाडामा लगाइएका ५ वटा सटरहरु ३५ दिनभित्र खाली गर्नुपर्ने उल्लेख छ । जिल्ला प्रशासन कार्यालय पर्साको मंसिर ७ गतेको निर्णयानुसार जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा रहेका सटरहरु भाडामा लगाइएकोमा हाल कार्यालयमा सेवाग्राहीहरूको अत्यधिक चाप बढेको र नागरिकलाई निर्वाध तथा सरलीकृत सेवा वितरणका लागि उक्त सटरहरु हटाउन लागिएको प्रमुख कार्कीको भनाइ छ । यस कार्यालयको प्रयोगका लागि अत्यावश्यक हुन गएकोले सटरहरु भाडामा लगाउने सम्झौतामा भएको व्यवस्था बमोजिम सूचना जारी गरिकै मितिबाट लागू हुने गरी ३५ दिन भित्र सम्झौता बमोजिम बुझाउन बाँकी भाडा रकम दाखिला गरी सटर कोठा खाली गरिदिन अनुरोध गरिएको छ ।