सर्वसाधारणलाई जुत्ताको माला लगाएर घुमाउने एक जना वडा अध्यक्षसहित ४ जनामाथि मुद्दा दर्ता
रौतहट– रौतहटस्थित विभिन्न पूर्वाग्रह राखेर सर्वसाधारणलाई जुत्ताको माला लगाएर घुमाउने एक जना वडा अध्यक्ष सहित ४ जनामाथि मुद्दा दर्ता गरिएको छ ।
जुत्ताको माला लगाएर सर्वसाधारणलाई घुमाउने गढीमाई नगरपालिका ९ का वडाध्यक्ष हरिश्चन्द्र सहनी सहित ४ जनामाथि ईलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दर्ता गरिएको हो ।
गरूडा नगरपालिका ३ मलाही बस्ने परिक्षण सहनीले माधवनारायण नगरपालिका ७ लौकाहा घर भई हाल मलाहि बस्ने श्रीराम सहनीको छोरा वर्ष १८ को राजु सहनीलाई मोटरसाईकलमा बसाई गत मंगलबार गरूडा बजारबाट घरतर्फ जाँदै गरेको थियो ।
सोही क्रममा समयमा चाँदीपुल नजिक सडक खण्डमा गढीमाई वडाध्यक्ष सहनी सहित नगरपालिका ९ बस्ने सोनेलाल सहनी, सनम सहनी र शैलेन्द्र सहनीले मोटरसाईकल रोकी विभिन्न किसिमको गाली गलौज गर्दै कुटपिट गरी परिक्षण सहनी र राजु सहनीको घाँटीमा जुत्ताको माला लगाई अपमानजनक तथा अमानविय व्यवहार गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताए ।
उक्त घटनामा संलग्न वडाध्यक्ष सहनी फरार भएको तथा अन्य तीनजना व्यक्तिहरुलाई सोही दिन पक्राउ गरीएको थियो।
वडाध्यक्षसहित चार जनामाथि अपमानजनक तथा अमानविय व्यवहार कसूरमा मुद्दा दायर गरी रौतहट जिल्ला अदालतबाट म्याद थप लिई थप गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दिपक कुमार रायले बताए ।
पक्राउ तीन जना ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको, फरार वडाध्यक्ष सहनीको खोजी भइरहेको तथा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।