सशस्त्र प्रहरी बल नं.१३ गणको कारबाही : मोबाइलदेखि कपडासम्म, लाखौँ मूल्यका सामान नियन्त्रणमा
कार्तिक ३०, वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल, पर्साले पछिल्लो कारबाहीमा झण्डै रु १७ लाख बराबरका अवैध सामान, मोटरसाइकल तथा पशुचौपाय नियन्त्रणमा लिएर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
विशेष सूचनाका आधारमा बिओपी महादेवपट्टीबाट खटिएको टोलीले जिराभवानी गाउँपालिका–१ बलुवास्थित मुस्तुफा मियाको घरमा भारतबाट भन्सार छली ल्याई लुकाइ–छिपाइ राखिएको अवस्थामा १५ कार्टुन (४५० पिस) ‘लाभा किप्याड मोबाइल फोन’ बरामद गरेको छ। बरामद मोबाइलहरूको मूल्य रु ९ लाख बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ।

यस्तै, सशस्त्र प्रहरी बल नं. १३ गण पर्साबाट खटिएको अर्को टोलीले बीरगञ्ज महानगरपालिका–२ भगुवास्थित सीमा क्षेत्रमा भारतबाट अवैध रूपमा भन्सार छली ल्याइ BR 29 T 9411 नम्बरको मोटरसाइकलमा लोड गरी परवानीपुरतर्फ लैजाँदै गरिएको कपडा तथा किराना सामान बरामद गरेको हो। बरामद सामानको मूल्य रु ३,८०,४२० र प्रयोग गरिएको मोटरसाइकलको मूल्य रु १ लाख गरी कुल रु ४,८०,४२० बराबर पर्छ।
त्यसैगरी, प्रसीसु गुल्म बीरगञ्जबाट खटिएको टोलीले महानगरपालिका–१६ स्थित सीमा इलाकाबाट रु ३,२१,४२० बराबरका कपडा, किराना सामान तथा पशुचौपाय नियन्त्रणमा लिएको छ।
यस्तै, गुल्म अलौबाट खटिएको टोलीले बिन्दवासिनी गाउँपालिका–५ झौवाबाट रु ११ हजार बराबरको तोरी बरामद गरी भन्सारमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।उक्त सबै बरामद सामग्रीहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (स.प्र.ना.उ.) विश्वराज योन्जनले जानकारी दिए।