साउथ जोन माध्यमिक विद्यालय १७ वर्षमा प्रवेश, जुनियर खेलकुदमार्फत १७० विद्यार्थी सम्मानित
माघ २० वीरगञ्ज आनन्द पटेल ।
बीरगञ्ज महानगरपालिका वडा नं. १३ राधे माईमा अवस्थित साउ जोन माध्यमिक विद्यालयको १७औँ स्थापना दिवसको अवसरमा आयोजित सप्ताव्यापी कार्यक्रम अन्तर्गत आज नर्सरीदेखि कक्षा २ सम्मका विद्यार्थीहरूका लागि जुनियर खेलकुद कार्यक्रम सम्पन्न भएको छ।
साउ जोन माध्यमिक विद्यालयका सञ्चालक तथा प्रिन्सिपल सरोज प्रसाद चौधरीको सभापतित्वमा तथा बीरगञ्ज महानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष हिरागिरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गिरीले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।

उक्त अवसरमा बोल्दै वडा अध्यक्ष गिरीले साउ जोन माध्यमिक विद्यालयले छोटो अवधिमै अभिभावकहरूको मन जित्न सफल भएको उल्लेख गर्दै यसका लागि विद्यालय प्रशासन, शिक्षक–शिक्षिका तथा व्यवस्थापन पक्षको योगदान प्रशंसनीय रहेको बताउनुभयो। गुणस्तरीय शिक्षा र नियमित गतिविधिका कारण विद्यालय पर्सा जिल्लाका उत्कृष्ट विद्यालयहरूमध्ये पर्न सफल भएको उहाँको भनाइ थियो।
सप्ताव्यापी कार्यक्रमको पहिलो दिन नर्सरीदेखि कक्षा २ सम्मका करिब ८०० विद्यार्थीहरू विभिन्न खेलकुद प्रतियोगितामा सहभागी भएका थिए। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा मेडल प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रममा जम्मा १७० वटा मेडल वितरण गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका सञ्चालक एवं प्रिन्सिपल सरोज प्रसाद चौधरीले विद्यालयको १७ वर्षे यात्रालाई समर्पण, निरन्तर प्रयास र सामूहिक सफलताको परिणामका रूपमा व्याख्या गर्नुभयो। विद्यालयको यो सफलतामा शिक्षक–शिक्षिका, भाइस प्रिन्सिपल, कर्मचारी तथा अभिभावकहरूको अमूल्य योगदान रहेको उहाँले उल्लेख गर्नुभयो।
प्रिन्सिपल चौधरीका अनुसार विद्यालयको लक्ष्य गुणस्तरीय शिक्षासँगै अनुशासन, सिर्जनशीलता र व्यक्तित्व विकासमा केन्द्रित रहेको छ। यसै उद्देश्यअनुसार विद्यालयले हरेक वर्ष खेलकुद, सिर्जनात्मक तथा सांस्कृतिक गतिविधिहरूलाई प्राथमिकतामा राख्दै आएको उहाँको भनाइ थियो। विद्यालयले फुटबल, क्रिकेट, भलिबल, हस्तकला, चित्रकला, वक्तृत्व कला तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा विद्यार्थीहरूको सक्रिय सहभागिता गराउँदै आएको छ।
त्यसैगरी, भाइस प्रिन्सिपल अशोक संग्रौलाले विद्यार्थीहरूलाई केवल पाठ्यपुस्तकको ज्ञान मात्र पर्याप्त नहुने बताउँदै सानैदेखि उनीहरूभित्र लुकेका प्रतिभाहरू पहिचान र उजागर गर्न यस्ता गतिविधिहरू आवश्यक रहेको धारणा राख्नुभयो। विद्यार्थीहरूलाई समाजको अगाडि आत्मविश्वासका साथ उभिन सक्ने वातावरण निर्माण गर्नु विद्यालयको दायित्व भएको उहाँले बताउनुभयो।
विद्यालयले आगामी दिनमा थप आधुनिक तथा प्राविधिक शिक्षण पद्धति अवलम्बन गर्दै विद्यार्थीहरूको आत्मबल, उत्तरदायित्व र क्षमतालाई अझ सशक्त बनाउँदै अघि बढ्ने लक्ष्य लिएको जनाएको छ।