सिन्धुलीमा बैंक लुटपाट, ३ करोड रुपैयाँभन्दा बढी चोरी

51

सिन्धुलीको घ्याङलेख गाउँपालिका- २ हायुटार बस्तिपुरमा मंगलबार राति एसबीआई बैंक शाखामा लुटपाट भएको छ ।  हतियारसहित आएको समूहले बैंकबाट ३ करोड १० लाख बढी लुटेर लगेको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

मंगलबार राति करिब ८:४० मा बैंकमा हतियारसहित प्रवेश गरेको समूहले बैंकका सुरक्षा गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिइ ३ करोड १० लाख ५९ हजार ३ सय ८३ रुपैयाँ लुटी फरार भएका थिए ।

प्रहरी प्रमुख (एसपी) सुवेदीका अनुसार घटना लगत्तै प्रहरीको टोली परिचालन गरि खोजतालास गर्ने क्रममा १ करोड ८९ लाख १० हजार ५ सय रुपैयाँ जंगलमा फेला परेको छ। घटनामा लुटेराहरूले बनेपाबाट रिजर्भ गरी प्रयोग गर्न ल्याएको विएडी ०३९८ नम्बरको टाटा सुमो जीप र त्यसका चालक भवत सिंह थापालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

लुटेराहरूले बैंकका सुरक्षा गार्ड रुद्रबहादुर कार्कीलाई हतियार देखाई नियन्त्रणमा लिएर आक्रमण गरेका थिए । उनको देब्रे हातमा चोट लागेको छ । लुटेराहरूको समूह कम्तीमा ६ जना भएको अनुमान छ । उनीहरूमध्ये चारजनाले खुकुरी र दुईजनाले पेस्तोल देखाएर आक्रमण गरेको बैंकका सुरक्षा गार्ड कार्कीको भनाइ छ । सुरक्षा गार्ड कार्कीको अवस्था अहिले सामान्य छ ।
लुटेराले बैंकका अन्य कर्मचारीहरूलाई समेत बाँधेर नियन्त्रणमा लिएका थिए ।

घटनालगत्तै आएको प्रहरीले उनीहरूलाई उद्धार गरेको थियो । लुटेराहरू काभ्रेतर्फ आएको हुनसक्ने प्रहरीको अनुमान छ । उनीहरूको खोजिका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) लालध्जव सुवेदी, प्रहरी नायव उपरिक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदी, इलाका प्रहरी कार्यालय बस्तिपुरलगायतको टोली खटिएको छ ।

घटनाका सम्बन्धमा निज लुटेराहरूको तीव्र खोजतलास एवं व्यापक अनुसन्धान कार्य अघि बढाइएको प्रहरीको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.