सिमानाबाट भारततर्फ लैजाँदै गरिएको ९१ के.जि. गाँजा सशस्त्र प्रहरीद्वारा बरामद

65

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेड क्वार्टर पर्साले पर्सा जिल्लाको सिमावर्ती क्षेत्रमा चोरी–तस्करी तथा लागू औषध ओसारपसार नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै आएको क्रममा ठूलो परिमाणको गाँजा बरामद गरेको छ।

ठोरी गाउँपालिका–४ स्थित निर्मल बस्ती क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. सुवर्णपुरबाट खटिएको गस्ती टोलीलाई देखेपछि करिब ९/१० जना व्यक्तिहरुले नाम्लोमा बोकी नेपालबाट भारततर्फ लैजाँदै गरेको गाँजा फालेर फरार भएका थिए। प्रहरी टोलीले तत्काल नियन्त्रणमा लिएका १० वटा प्लास्टिकका पोका खोल्दा प्रतिबन्धित लागू औषध गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजाको तौल ९१ के.जि. पुगेको र आवश्यक प्रक्रिया पूरा गरी उक्त गाँजा इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको जानकारी सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेड क्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनले दिएका छन्।

सशस्त्र प्रहरी बलले लागू औषध ओसारपसार तथा तस्करीजन्य गतिविधिलाई निस्तेज पार्दै पर्सा जिल्लामा नियमित रूपमा नियन्त्रण तथा निगरानी कार्यलाई सुदृढ बनाउँदै आएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.