सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमः पुरन चन्द्र भट्टको प्रमुख आतिथ्यतामा २०३ विपन्न परिवारलाई न्यानो कपडा वितरण
पौस २८ पर्सा, आनन्द पटेल।
२५औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत सीमावासीलाई सहयोग पुर्याउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हेडक्वार्टर (हे.क्वा.) पर्साको आयोजनामा तथा रोटरी क्लब अफ वीरगञ्जको सहकार्यमा पर्सा जिल्लाका विभिन्न पालिकाका २०३ विपन्न घरपरिवारलाई न्यानो कपडा (पोलार) वितरण गरिएको छ।
कार्यक्रम सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हेडक्वार्टर पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टको प्रमुख आतिथ्यतामा विभिन्न वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको हो।
कार्यक्रम अन्तर्गत
सीमा सुरक्षा गुल्म हेडक्वार्टर अलौको प्राङ्गणमा वीरगञ्ज महानगरपालिका–१७ का ३४ विपन्न घरपरिवार,
बिओपि अमरपट्टीको प्राङ्गणमा बिन्दवासिनी गाउँपालिका–३, ४ र ५ का ३७ विपन्न घरपरिवार,
बिओपि पिडारीगुठ्ठीको प्राङ्गणमा जगरनाथपुर गाउँपालिका–१ का १६ विपन्न घरपरिवार,
बिओपि भिष्वाको प्राङ्गणमा छिपहरमाई गाउँपालिका–३, ४ र ५ का ७१ विपन्न घरपरिवार,
बिओपि महादेवपट्टीको प्राङ्गणमा जिराभवानी गाउँपालिका–१ का १५ विपन्न घरपरिवार तथा
सीमा सुरक्षा गुल्म हेडक्वार्टर भिखमपुरको प्राङ्गणमा धोविनी गाउँपालिका–२ र जगरनाथपुर गाउँपालिका–२ का ३० विपन्न घरपरिवारलाई न्यानो कपडा (पोलार) वितरण गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टले सशस्त्र प्रहरी बल केवल सीमा सुरक्षा र शान्ति सुरक्षामा मात्र सीमित नभई सामाजिक उत्तरदायित्व बहन गर्ने संस्थाका रूपमा समेत क्रियाशील रहेको बताए।
उनले भने, “सीमावर्ती क्षेत्रका विपन्न नागरिकहरूलाई लक्षित गरी गरिने यस्ता मानवीय कार्यले सुरक्षा निकाय र नागरिकबीचको विश्वास अझ मजबुत बनाउँछ। सशस्त्र प्रहरी बल आगामी दिनमा पनि समुदायसँग सहकार्य गर्दै यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिनेछ।”
यस्तै, कार्यक्रमबारे जानकारी दिँदै सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले सीमावासीको दैनिकी सहज बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए।
उनका अनुसार “सीमावर्ती क्षेत्रका गरिब तथा विपन्न परिवारलाई चिसो मौसमबाट जोगाउन सहयोग पुर्याउने लक्ष्यसहित न्यानो कपडा वितरण गरिएको हो।”