सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत पर्सामा सातदिने केश कर्तक तालिम सम्पन्न
पौस २८ पर्सा, आनन्द पटेल।
सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत पौ २० गतेदेखि पर्सा जिल्लाको पकाहाँमैनपुर गाउँपालिका वडा नम्बर ४, लहावरथकरीस्थित सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर लहावरथकरीमा सञ्चालन गरिएको सात कार्य दिनको केश कर्तक (हेयर कटिङ) तालिम पौस २७ गते समापन भएको छ।
तालिम समापन कार्यक्रम सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हेडक्वार्टर पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा उक्त सीमा सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक लोकनाथ उप्रेती, पकाहाँमैनपुर गाउँपालिका वडा नम्बर ४ र ५ का वडाअध्यक्ष तथा वडा सदस्यहरू, सीमा सहजिकरण समिति लहावरथकरी–४का सदस्यहरू लगायतको उपस्थिति रहेको थियो।
तालिममा पकाहाँमैनपुर गाउँपालिका वडा नम्बर ४ का १५ जना प्रशिक्षार्थीहरू सहभागी रहेका थिए। तालिम समापन पश्चात पकाहाँमैनपुर गाउँपालिकासँगको सहकार्यमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा एक–एक सेट कपाल काट्ने सामग्री वितरण गरिएको थियो।
यस सम्बन्धमा जानकारी दिँदै सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले सीमावर्ती क्षेत्रका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए।
उनका अनुसार यस्ता सीपमूलक तालिमले सीमावासी समुदायको आत्मनिर्भरता वृद्धि गर्न सहयोग पुग्नेछ।