सूचनाको नाममा घरमा छापा, बरामद शून्य भएपछि स्थानीय आक्रोशित

78

वीरगञ्ज– वीरगञ्ज महानगरपालिका–२५ सिर्सिया टोलमा बिहीबार सशस्त्र प्रहरीले छापा मारेको छ। विशेष सूचनाको आधारमा रामाकान्त पटेलको घरमा सीमा सुरक्षा बल सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले छापामारी गरेको हो।

सूचनाअनुसार केही सामान अवैध रूपमा भित्र्याइएको आशंकामा छापा मारिएको बताइए पनि विस्तृत जाँचपछि उक्त घरबाट कुनै पनि सरसामान बरामद नभएको प्रहरीले जनाएको छ। केही पनि नपाइएपछि टोलीले कागजी मुचुल्का मात्र बनाएर फर्किएको थियो।

छापामारीबारे स्थानीय बासिन्दाहरूले कडा आपत्ति जनाएका छन्। उनीहरूका अनुसार बिना ठोस सूचना र अनुमति एक्कासी घरमा प्रवेश गर्दा आफूहरू आतंकित भएको बताएका छन्। स्थानीयले चेकजाँचको नाममा सशस्त्र प्रहरी र भन्सारका कर्मचारीले दुःख दिने गरेको आरोप पनि लगाएका छन्।

स्थानीय बासिन्दाहरूको भनाइमा भन्सार नाकामा आर्थिक लेनदेनपछि मात्र सामान नेपाल भित्र्याउन दिने र विभिन्न बहानामा सर्वसाधारणलाई हैरानी दिने गरिएको छ। चेकजाँचको नाममा अनावश्यक दुःख बाहेक केही नभएको उनीहरूको आरोप छ।

उक्त घटनापछि सिर्सिया टोलमा तनावको अवस्था सिर्जना भएको थियो। स्थानीयहरूले बिना प्रमाण घरमा छापा मार्ने कार्यको विरोध गर्दै यस्ता गतिविधि तत्काल रोक्न माग गरेका छन्।

Leave A Reply

Your email address will not be published.