स्रोत नखुलेको ४६ हजार नगद सहित ३ जना भारतीय नागरिक पक्राउ

33

वीरगञ्ज । मकवानपुर प्रहरीले स्रोत नखुलेको ४६ हजार विदेशी मुद्रासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार राति करिब पौने ९ बजेको समयमा हेटौँडा–१ स्थित चौक टोलमा विशेष सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका तीन जनामा भारत उत्तर प्रदेशको जालौन जिल्ला निवासी ४० वर्षीय विजय सिंह कुशवाह, गोरखपुर निवासी २६ वर्षीय प्रशान्त पाठक, र राजस्थान चितौरगढ निवासी ३२ वर्षीय राहुल कुमार माण्डावत छन् ।

उनीहरूको साथबाट क्रमशः १२ हजार अमेरिकी डलर, १४ हजार युरो, र २० हजार अमेरिकी डलर बरामद गरिएको छ । प्रहरीले जनाएको अनुसार उक्त रकम नेपाली मूल्यमा करिब ६२ लाख ९० हजार रुपैयाँ बराबरको छ ।

काठमाडौँबाट हेटौँडा जाँदै गरेको बा।प्र।०३–००१ ज ०७६५ नम्बरको इभि माइक्रोबसलाई हेटौँडा–१ स्थित चेकपोइन्टमा रोकी खानतलासी गर्दा रकम फेला परेको थियो । चेकजाँचको क्रममा बसमा सवार तीन जनाको झोला तथा शरीरमा लुकाइ राखिएको विदेशी मुद्रा बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ । बरामद रकम र अभियुक्तहरूलाई आवश्यक कानुनी प्रक्रियाका लागि राजश्व अनुसन्धान कार्यालय, मिनभवन, ललितपुर पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।

प्रहरीले विशेष सूचनाका आधारमा गरिएको यस अपरेसनलाई महत्त्वपूर्ण सफलता मानेको छ । प्रहरीले नागरिकलाई शङ्कास्पद गतिविधि देखिएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.