हिन्दू राष्ट्र स्थापनाका लागि वीरगञ्जका शक्तिपीठहरूमा नेजपा पार्टीद्वारा सामूहिक पूजापाठ
असार १, वीरगन्ज
जनता पार्टी (नेजपा) पर्सा जिल्ला समितिले हिन्दू राष्ट्र स्थापनाको मागसहित बीरगंज महानगरपालिकाभित्र रहेका विभिन्न शक्तिपीठहरूमा शनिबार सामूहिक पूजापाठ सम्पन्न गरेको छ।
नेपाली जनताको सुख, शान्ति, समृद्धि र सनातन हिन्दू राष्ट्रको पुनःस्थापनाको उद्देश्यसहित आयोजित उक्त धार्मिक कार्यक्रम बीरगंज महानगरपालिका वडा नं. १ बाट सुरु भई सम्पूर्ण ३२ वडामा फैलिएको प्रमुख मठ–मन्दिरहरूमा गरिएको हो।
कार्यक्रमअन्तर्गत श्री गहवा माई मन्दिर, हनुमान मन्दिर महावीर स्थान, गीता मन्दिर, वीरता माई मन्दिर, लक्ष्मीनारायण मन्दिर छपकैया, पशुपतिनाथ मन्दिर पिपरा, श्री संसारी माई मन्दिर छपकैया, श्री महादेव मन्दिर मालपोत चौक, पंचमुखी हनुमान मन्दिर रेल्वे रोड, श्री बौद्धिमाई मन्दिर नगवा, श्री विन्दवाशिनी माई मन्दिर, श्री रामजानकी मन्दिर रानीघाट मठ, श्री नृसिंह मन्दिर, श्री हनुमान मन्दिर अलौ लगायतका दर्जनौं धार्मिक स्थलमा विधिपूर्वक पूजापाठ सम्पन्न गरिएको थियो।
उक्त कार्यक्रम नेपाल जनता पार्टी पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको नेतृत्वमा सम्पन्न भएको हो। पूजापाठमा पार्टीका केन्द्रीय वरिष्ठ नेता संतोषानन्द महाराज, केन्द्रीय सदस्य सुरेश साह कानू, अधिवक्ता बिनोद प्रसाद कुर्मी, पारस दुबेदी, मंत्री आनन्द सिंह कुर्मी, प्रमोद शर्मा, कोषाध्यक्ष राजेश साह कलवार, सह-कोषाध्यक्ष संतोष कुशवाहा, कार्य समिति सदस्य सुमंत कुमार दीप, मधुसूदन ठाकुर लोहार, मनीष वर्णवाल, युवा पत्रकार कन्हैया पटेल लगायतको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरुले हिन्दू संस्कृतिको संरक्षण र सनातन धर्मको स्थायित्वका लागि यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेका थिए। पार्टीले निकट भविष्यमा यस्ता धार्मिक र सांस्कृतिक जागरणमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ।