हैजाबाट जोगिन रेडक्रसको पहल, वीरगञ्जमा निशुल्क किट उपलब्ध

54

वीरगञ्जमा हालसालै हैजाको जोखिम बढ्दै गएपछि नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज उपशाखाले वडा नं १५ का बासिन्दालाई हैजाबाट बचाउन निःशुल्क किट वितरण गरेको छ।
रेडकसद्वारा वितरण गरिएको किटमा जीवन जल साबुन, पीयूष लिक्विड र पानी शुद्ध गर्ने ट्याबलेट जस्ता सामग्रीहरू समावेश गरिएका छन्। यी सामग्रीहरूले हैजाको उपचार र रोकथाम दुवैमा सहयोग पुर्‍याउने जनाइएको छ।

कार्यक्रमका प्रमुख उमेश मिश्र का अनुसार किट वितरणसँगै स्थानीयलाई हैजाबारे सचेतना फैलाउने अभियान पनि सञ्चालन गरिएको हो। कार्यक्रममा स्वास्थ्यकर्मी र स्वयंसेवकहरूले सरसफाइमा ध्यान दिनुपर्ने, हात धुने तरिका, पानी उमालेर पिउनुपर्ने आवश्यकता र खानपानमा अपनाउनु पर्ने सावधानीबारे प्रायोगिक रूपमा जानकारी गराए।

नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका (कोषाध्यक्ष अभिलाष कुमार गुप्ताले “हैजा फैलन नदिनका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा स्वच्छ पानी र सरसफाइ हो। हामीले वितरण गरेका यी सामग्रीहरूले परिवारलाई प्राथमिक तहमै सुरक्षित राख्न मद्दत पुर्‍याउँछन्।”

वडा नं। १५ का स्थानीयवासी विकास साह ले भने,“हामी यहाँ हैजाको डरले त्रसित भएका थियौं। समयमै रेडक्रसले आवश्यक सामग्री र जानकारी दिएकोले अब केही हदसम्म ढुक्क भएका छौं।”

यसैबीच, स्वास्थ्य कार्यालय पर्साले वीरगञ्जका विभिन्न बस्तीमा हैजासँग मिल्दोजुल्दो लक्षण देखिएको जनाउँदै सतर्क रहन अपिल गरेको छ। चिकित्सकहरूले दूषित पानी सेवन नगर्नु, खुला स्थानमा दिसा नगर्नु र साबुनपानीले नियमित हात धुनु हैजा नियन्त्रणको प्रमुख उपाय भएको औंल्याएका छन्।

नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखा सदस्य एवं कार्यक्रम संयोजक दयाशकर सिंह का अनुसार हैजा प्रभावित वा जोखिमयुक्त वडा नं। १४, १५ र १६ मा समेत यस्ता कार्यक्रम विस्तार हुँदैछन्। उनले भने,“नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखालाई ती तीन वडामा किट वितरण र डाटा संकलन गर्ने जिम्मेवारी दिइएको छ।”

आजको कार्यक्रममा रेडक्रस सदस्य गुडी कुमारी साह को नेतृत्वमा प्रमोद प्रसाद यादव, अभिलाष गुप्ता, विकास कुमार साह, राजेन्द्र ठाकुर, श्याम महतो, राजु साहलगायतका स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.