होलिको पूर्वसन्ध्यामा वीरगन्ज कपडा बैंक द्वारा घण्टाघरमा ८ सय थान नि:शुल्क कपडा वितरण
फाल्गुन १७, वीरगन्ज।
हर्षोल्लास एवं आपसी एकता–भाइचाराको महापर्व होलीको पूर्वसन्ध्यामा आइतबार शुभकामना आदान–प्रदानसँगै वीरगन्ज कपडा बैंकले वीरगन्जको घण्टाघर क्षेत्रमा करिब ८ सय थान नयाँ तथा पुराना कपडा नि:शुल्क वितरण गरेको छ।
बैंकले प्रत्येक आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि साँझ ५:३० बजेसम्म तथा शनिबार दिउँसो १ बजेसम्म वीरगन्ज–८ स्थित कार्यालयबाट गरिब, असहाय तथा विपन्नलाई नि:शुल्क कपडा उपलब्ध गराउँदै आएको कोषाध्यक्ष मनोज मिश्राले जानकारी दिए।
कार्यक्रममा प्रमुख अतिथि संस्थाका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र कुर्मीले मानव सेवा नै सर्वोत्तम धर्म भएको उल्लेख गर्दै मानविय सेवाका कार्यमा सबैले आफ्नो आम्दानीको कम्तीमा ५ प्रतिशत रकम दिनदुखी तथा असहायको सहयोगमा खर्च गर्नुपर्ने धारणा व्यक्त गरे। उनले होली केवल रङ्गको पर्व मात्र नभई सत्यता, हर्षोल्लास, आपसी एकता र भाइचारा सुदृढ गर्ने पर्व भएकाले शान्तिपूर्ण रूपमा मनाउन आग्रह गर्दै सम्पूर्णमा शुभकामना व्यक्त गरे।
संस्थाका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता, समाजसेवी वरुण चौरसिया लगायतले चाडपर्वका बेला नयाँ लुगा किन्ने सामर्थ्य सबैसँग नहुने बताउँदै नयाँ तथा नयाँ जस्तै कपडा उपलब्ध गराई विपन्नको अनुहारमा खुशी ल्याउनु सामाजिक उत्तरदायित्व भएको धारणा राखे। उनीहरूले वीरगन्ज कपडा बैंकको अभियानमा हातेमालो गर्दै मानवता सुदृढ बनाउन सबैलाई आह्वान गरे।
कार्यक्रममा नेपाल बार एसोसिएसन पर्साका सदस्य आशुतोष तिवारी, आदिवासी जनजाति पत्रकार महासंघ पर्साका अध्यक्ष मुनेश लायो मगर, समाजसेवी गौरी गुप्ता, युवा समाजसेवी हुकुम सिंह राजपुत, आइज नेपाल पर्साकी कोषाध्यक्ष रुपशिला जैसवाल, सिए गुड्डु रौनियार, घण्टाघर प्रहरी पोष्टका प्रमुख राम बिनोद झा, बैंकका सल्लाहकार श्रवण बहादुर रायमाझी, सदस्यहरू हरेन्द्र पटेल (बाबा), जानकी देवी, नवराज भट्टराई, केदार गुप्ता, सुरज श्रीवास्तव, राहुल सिंह राजपुत, कर्मचारी मिथलेश श्रीवास्तव लगायत सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
सो अवसरमा अध्यक्ष सिंहले काठमाडौं निवासी रबि परियार तथा उनका तीन साथीले ३० वटा नयाँ होली टिसर्ट सहयोग गरेको जानकारी दिँदै सम्पूर्ण दाता, सल्लाहकार, शुभेच्छुक, सञ्चारकर्मी तथा सदस्यहरूप्रति आभार व्यक्त गरे। उनले होली पर्वले देश–विदेशमा शान्ति, समृद्धि र आपसी एकता–भाइचारा सुदृढ बनाओस् भन्ने कामना गर्दै सबैमा शुभकामना व्यक्त गरे।