२२ महिनादेखि निरन्तर निःशुल्क भोजन, सयौँ बिपन्नको आशा बन्यो वीरगन्ज समाज सेवा

82

वीरगन्ज, २४ माघ ।

वीरगन्ज समाज सेवाले वीरगन्जस्थित नारायणी अस्पतालमा निरन्तर २२औँ महिनाको चौथो साप्ताहिक निःशुल्क भोजन कार्यक्रम शनिबार सभ्य एवं भव्य रूपमा सम्पन्न गरेको छ। पछिल्लो दुई वर्षदेखि प्रत्येक शनिबार बिहान ९:३० बजेदेखि नारायणी अस्पताल परिसरमा सञ्चालन हुँदै आएको उक्त सेवाबाट अस्पतालमा उपचाररत बिपन्न बिरामी, कुरुवा, असहाय व्यक्तिहरू, रिक्सा तथा ई–रिक्सा चालक र यात्रु–बटुवाहरू लाभान्वित हुँदै आएका छन्।

कार्यक्रममा घरमा बनाएको जस्तै सफा, सुग्घर, शुद्ध र गुणस्तरीय पोषिलो भोजन वितरण गरिएको थियो। आजको भोजनमा शुद्ध शाकाहारी खानाका रूपमा भात, दाल, आलु–चनाको तरकारी तथा हरियो खुर्सानीको अचार वृद्ध, महिला र बालबालिकालाई बोलाइ–बोलाइ थपी–थपी खुवाइएको थियो।

सो अवसरमा वीरगन्ज समाज सेवाका सचिव प्रकाश वाहेतीले “सेवा नै धर्म हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै हरेक हप्ता करिब ४५० देखि ५०० जनाले यस सेवाबाट लाभ लिँदै आएको जानकारी दिए। दिनदुःखी र असहायको पेट भरिँदा तथा उनीहरूको अनुहारमा देखिने मुस्कानले आफूहरूलाई थप ऊर्जा मिल्ने बताउँदै आजको कार्यक्रममा नगद सहयोगसहित प्रत्यक्ष सेवा गरेका युवा समाजसेवी वरुण चौरसियालाई धन्यवाद व्यक्त गरे।

युवा समाजसेवी वरुण चौरसियाले दिनदुःखी र असहायको सेवा नै ठूलो धर्म र कर्म भएको उल्लेख गर्दै नारायणी अस्पतालजस्तो बिपन्नहरूको प्रमुख उपचारस्थलमा निःशुल्क रूपमा घरजस्तै खाना खुवाइरहेको देख्दा आफू पनि सहयोग र सेवामा सहभागी हुन प्रेरित भएको बताए। यस मानवीय अभियानमा हातेमालो गर्दै मानवतालाई अझ बलियो बनाउन उनले सबैमा आग्रहसमेत गरे।

आजको निःशुल्क भोजन कार्यक्रममा समाजसेवीहरू बिरेन्द्र आर्य, लालबाबु सिंह, निसान्त लाठ, हरेन्द्र महतो, राज महतो लगायतले सक्रिय रूपमा सेवा प्रदान गरेका थिए। वीरगन्ज समाज सेवाको यस निरन्तर मानवीय पहलले स्थानीय स्तरमा सकारात्मक सन्देश प्रवाह गर्दै आएको छ।

Leave A Reply

Your email address will not be published.