३२ औं प्रेस स्वतन्त्रता दिवस वीरगंजमा पनि मनाइयो
“बलियो नयाँ युगमा रिपोर्टिङ प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव” भन्ने मुल नारा सहित वीरगंजमा ३२ औं प्रेस स्वतन्त्रता दिवस मनाइएको छ । नेपाल पत्रकार महासंघ पर्साको आयोजनामा शनिबार सो दिवस मनाइएको हो । सो अवसरमा वीरगंजको घण्टाघरबाट प्रभातफेरी निकालि पुनः घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो । कार्यक्रममा पत्रकारिता कर्म गर्दागर्दै प्राणको आहुति दिएका पत्रकारहरु प्रति श्रद्धाञ्जलि अर्पण गर्दै स्वतन्त्र र जिम्मेवार प्रेसको महत्त्वमाथि जोड दिएका थिए ।
कोणसभामा वक्ताहरूले प्रेस स्वतन्त्रता संरक्षण, पत्रकार सुरक्षाको प्रत्याभूति, र उत्तरदायी पत्रकारिताको अभ्यासका विषयमा आफ्ना धारणा राखेका थिए ।महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले पत्रकारहरूमाथि भइरहेका धम्की र आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै दोषीमाथि कडा कारबाहीको माग गरे ।कार्यक्रममा महासंघका लेखा समिति संयोजक केसी लामिछाने, पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालसहित पत्रकार, नागरिक समाज र विभिन्न संघ–संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।