६१ जिल्लामा निर्वाचन प्रहरी छानिए, तालिम भोलिबाट सुरु

52

काठमाडौँ – आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षा व्यवस्था कडा बनाउने तयारी अन्तर्गत देशभर ६१ जिल्लामा निर्वाचन प्रहरी छनोट गरिएको छ। प्रहरी प्रधान कार्यालयका प्रवक्ता, डीआईजी अबि नारायण काफ्लेले रातोपाटीसँग कुरा गर्दै जानकारी दिए अनुसार यसपटक निर्वाचन प्रहरीमा भर्ना हुन २ लाख ११ हजार ७२७ जनाले आवेदन दिएका थिए।

डीआईजी काफ्लेका अनुसार, ६१ जिल्लामा छनोटको नतिजा प्रकाशन भइसकेको छ। तर १६ जिल्लामा दरखास्त संख्या आवश्यक भन्दा कम परेकाले नतिजा प्रकाशनको तयारी भइरहेको छ। ती जिल्लामा पुनः दरखास्त आह्वान गरिने र बुधवार लिखित तथा मौखिक परीक्षाको नतिजा सार्वजनिक गरिने बताइएको छ।

निर्वाचन प्रहरी तालिम माघ १५ देखि सुरु हुने छ। उनीहरूलाई १० दिनको तालिम दिएर माघ २५ देखि फिल्डमा परिचालन गरिने योजना छ।

सशस्त्र प्रहरीले भर्ना गर्न लागेको निर्वाचन प्रहरीको छनोट पनि अहिले चलिरहेको छ। जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठन समितिले सशस्त्र प्रहरीबाट हुने १५ हजार ११० जनाको प्रारम्भिक छनोट गरिरहेको छ। प्रारम्भिक छनोट सकिएपछि उनीहरूलाई सशस्त्र प्रहरीकै तालिम प्रदान गरिने छ।

यसपटकको निर्वाचनमा कुल १ लाख ३३ हजार ९८० जनालाई निर्वाचन प्रहरीका रूपमा परिचालन गर्ने तयारी छ। प्रहरीका लागि आवश्यक बजेटको व्यवस्था अर्थ मन्त्रालयले ७ अर्ब १३ करोड रुपैयाँको स्रोत सुनिश्चित गरी सकेको छ।

प्रहरी प्रधान कार्यालयले आवेदन दिनेहरूको सिआरएस (क्रिमिनल रेकर्ड सिस्टम) जाँचसमेत गरेको छ। यस प्रणालीबाट अपराधमा संलग्न वा फरार रहेका व्यक्तिहरू पहिचान गर्न सकिनेछ।

Leave A Reply

Your email address will not be published.