वैशाख २३ , वीरगञ्ज । वैशाख २० गते दिउँसो ३ बजे सर्लाहीको विष्णु गाउँपालिका–१ बाराद्धोरण टोलका सत्रुधन यादवको घरमा अचानक आगो लाग्यो । आगलागीले घरभित्रको खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा आगोका झिल्का विपन्न बस्तीतिर सल्कियो ।
बस्तीका अन्य घरमा रहेको ग्यास सिलिन्डर पनि क्रमशः विस्फोट हुँदै जाँदा बस्ती आगोको चपेटामा पर्न केही बेर लागेन । सर्लाहीका डिएसपी दीपक श्रेष्ठका अनुसार ६ वटा दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा ४ घण्टापछि मात्र आगो नियन्त्रणमा आयो ।
यद्यपि, त्यतिबेलासम्म आगोले बस्तीका ७५ वटा घर खरानी बनाइसकेको थियो । ‘दिउँसो ३ बजे लागेको आगो धेरै प्रयास पश्चात साँझ सवा ७ बजे मात्र नियन्त्रणमा आयो । ७५ वटा घर जलेर नष्ट भयो’, डीएसपी श्रेष्ठले भने ।
विष्णु गाउँपालिका अध्यक्ष जवाहर यादवका अनुसार बाराद्धोरण टोल अधिकांश पटेल परिवारको विपन्न बस्ती थियो । गाउँपालिकाले केही समय पहिले बस्तीको घरघरमा ग्यास सिलिन्डर र चुल्हो बाँडेको थियो ।
पालिकाले बाँडेका तिनै सिलिन्डर आगलागीको प्रमुख कारण बन्न पुग्यो । आगलागीमा ग्यास सिलिन्डर क्रमशः विस्फोट हुँदा समयमै आगो नियन्त्रण गर्न नसकेर ठूलो क्षति भएको उनको भनाइ छ ।
गत वैशाख १८ गते साँझ ५ बजे सप्तरीको महदेवा गाउँपालिका–१ चिमटी बस्तीमा नथुनी यादवको गोठमा चुल्होमा भैंसीको लागि खोल पकाउँदै गर्दा आगो सल्कियो । त्यसपछि छेउछाउका अन्य घरगोठ पनि आगोको चपेटामा परे ।
प्रायः फुसको घर हुँदा आगलागी समयमा नियन्त्रण हुन सकेन । सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्धि बज्राचार्यका अनुसार ६ वटा दमकल, एकसय बढी सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो झण्डै ५ घण्टापछि नियन्त्रणमा आयो ।
त्यो आगलागीबाट ४६ वटा घर जलेर खरानी भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुंडीराज न्यौपाने बताउँछन् । उनका अनुसार आगलागीमा धनमालसहित १७ वटा चौपाया पनि जलेर मरेका थिए ।
गत वैशाख १२ गते दिउँसो १२ बजेतिर महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरलहवागाछी टोलका मोहम्मद वामिल शेषको घरबाट सल्केको आगोले एक सय घर खरानी भयो ।
तातो हावा चल्दा र घरभित्र रहेको खाना पकाउने ग्यास सिलिण्डर विस्फोटले विपन्न बस्ती आगोको चपेटामा पर्दा १० वटा वारुणयन्त्र र ३ सय बढी सुरक्षाकर्मी र स्थानीयलाई आगलागी नियन्त्रणमा लिन ६ घण्टा लागेको थियो ।
महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार ९२ वटा घर पूर्णरुपमा जलेर नष्ट भयो भने अन्य दर्जन बढी घरमा क्षति भयो ।
महोत्तरीमा आगलागी हुनु २ दिनअघि मात्र वैशाख १० गते धनुषाको हंसपुर नगरपालिका–१ भगवानपट्टीमा परालको टौवामा लागेको आगोले एक महिलाको जलेर मृत्यु भयो ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार दिउँसो ३ बजे परालको टौवामा लागेको आगो नियन्त्रणमा लिने क्रममा ४२ वर्षीय विन्देश्वरी कापरको आगलागीमा जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको थियो ।
२ साता भित्रै सर्लाही, सप्तरी, महोत्तरी र धनुषाका यी आगलागी घटनाहरु उदाहरण मात्र हुन् । प्रहरी राखेको तथ्यांकअनुसार २ साता यता मधेशका ८ जिल्लामा दिनदिनै आगलागी भइरहेका छन्, रोकिएका छैनन् ।
२ साता यता २ सय ५० भन्दा बढी घरगोठ जलेर करोडौंको धनमाल खरानी भएको प्रहरीले जनाएको छ ।
दश महिनामै १२६६ आगलागी घटना, १९ जनाको मृत्यु
मधेश प्रदेश प्रहरी कार्यालयको विवरण अनुसार मधेशमा आगलागीको भयावह समस्या देखिन्छ । चालु आर्थिक वर्ष ०८०र८१ को साउनदेखि वैशाख २० गतेसम्म मधेश प्रदेशको ८ जिल्लामा १ हजार २६६ आगलागीको घटना भएको छ ।
जसमा १२ महिलासहित १९ जनाको जलेर मृत्यु भएको छ । आगलागीमा परेर १५ जना बालबालिका सहित १३९ जना घाइते भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुवाचन्द्र बोहराले बताए ।
जलेर सबभन्दा बढी धनुषामा ६ जना, सिरहामा ५ जना, रौतहटमा ३ जना, बारामा २, पर्सा, महोत्तरी र सर्लाहीमा १–१ जनाको मृत्यु भएको प्रहरीको तथ्यांकमा छ ।
एक हजार १० घरगोठ जलेर खरानी
प्रवक्ता एसपी बोहराका अनुसार आगलागीमा गत साउनदेखि वैशाख २० गतेसम्म मधेशको ८ वटै जिल्लामा १ हजार १० घरगोठ जलेर नष्ट भएको छ ।
जसमा कच्ची ६६९, पक्की ८८ र गोठ २५३ छन् । यो आगलागी घटनामा २९६ वटा पशुचौपाया जलेर मरेको र ११४ वटा चौपाया घाइते भएको प्रहरी तथ्यांकमा उल्लेख छ ।
तथ्याक अनुसार सबभन्दा बढी आगलागी घटना सिरहामा २२९ वटा भएको छ भने कम सर्लाहीमा १११ वटा । घर जलेको आधारमा सबभन्दा सप्तरीमा १९४ घरगोठ जलेको छ ।
क्रमशः महोत्तरीमा १९२, सर्लाहीमा १७७, सिरहामा १३०, बारामा १२९, रौतहटमा ८८, पर्सामा ७५ र धनुषामा २५ घरगोठ जलेर नष्ट भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुुसार आगलागीमा ९९ करोड ६० लाख ३७ हजार ८६४ रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
आगलागीको कारणः जनेचतना अभाव र असावधानी
मधेका जिल्लामा दिनहुँजसो हुने आगलागी घटनाको प्रमुख कारण असावधानी र जनचेतनाको अभाव रहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुंडीराज न्यौपाने बताउँछन् ।
‘आगलागी घटना हुनुमा कारण जनचेतनाको कमी हो । चुरोटको ठुटा ननिभाएर फाल्ने, ग्यासको प्रयोग सावधानी तरिकाले नगर्ने, खोले पकाउनेबेला ध्यान नदिने जस्ता कारणले आगलागीको घटनाहरु भएको देखिएको छ’, उनले भने ।
सर्लाहीका प्रहरी प्रवक्ता डीएसी दीपक श्रेष्ठ गर्मी एवं सुक्खा मौसममा भात पकाएर चुल्होमा आगो ननिभाएर बाहिर जाने, ग्यास पड्किएर, परालबाट आगो सल्केर, विद्युत सर्ट भएर आगलागीको घटनाहरु हुने गरेको बताउँछन् ।
प्रहरी अधिकारीहरुका अनुसार जाडोको बेला प्रायः आगो ताप्न वा न्यानोका लागि बालेको घुरबाट आगलागीको घटना हुन्छन् । गर्मी, सुक्खा मौसम र पानीको मुहानहरु सुक्दै जानाले त्यसको उपलब्धता अभावले आगलागी घटना वृद्धि भएको सिरहाका प्रहरी प्रवक्ता मुक्ति सापकोटाको तर्क छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुवाचन्द्र बोहरा पछिल्लो समय भएको केही आगलागी घटनामा घना वस्ती, फुसको घर, त्यसबेला चल्ने हावाले बस्तीहरु चपेटामा परेको बताउँछन् ।
प्रवक्ता बोहरा भन्छन्, ‘बढी क्षति र आगलागी समयमा नियन्त्रणमा आउन नसक्नुमा स्थानीय तहमा दमकलहरुको अभाव छ । छिमेक पालिका र जिल्लाहरुबाट दमकल मगाउनु पर्ने कारण तत्कालै नियन्त्रणमा कठिनाइ हुन्छ । प्राविधिक कुराहरुको अभाव हुन्छ ।’
धनुषाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरिया पनि आगलागी घटना वृद्धि हुनु असावधानी प्रमुख कारण मान्छन् । ‘असावधानी र जनचेतना अभावकै कारणले अहिले प्रायः आगलागीको घटनाहरु हुने गरेको छ’, प्रजिअ कडरीया भन्छन्, ‘सावधानी सतर्कताले यसलाई नियन्त्रण गर्न सकिन्छ ।’
नेपाल प्रहरीले आगलागीबाट बच्न विभिन्न भाषामा सूचना तथा संदेशमूलक जिंगलहरु बनाएर गाउँघर र एफएमहरुमा बजाउने गरिएको छ । ‘जिल्ला प्रहरी कार्यालयहरुले समुदायमा गएर जनचेतनामूलक कार्यक्रम गर्ने, स्थानीय सरकारहरुसँग समन्वय गरेर आगलागी नियन्त्रणको प्रयास भइरहेको छ’, प्रवक्ता बोहरा भन्छन् ।
गत शुक्रबार मधेश प्रदेशको गृह संचार तथा कानुन मन्त्रालयमा भएको आगलागी नियन्त्रणको लक्षित विपद् व्यवस्थापन सम्बन्धी बैठकले आगलागी पीडित प्रति परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको थियो ।
मन्त्रालयसित सूचना प्रवाहको लागिसमेत बजेट नगरेकोले विपद् व्यवस्थापनको तयारी कठिन रहेको मन्त्री राजकुमार लेखीले बताए ।
उदासिन सरकार स् ठूलो क्षति
बर्सेनि मौसमअनुसार विपद् आएपनि सरकारको पूर्व तयारीमा गम्भीर नहुँदा ठूलो क्षति व्यहोर्नु परेको जानकाररुको तर्क छ ।
‘मधेश जोखिमयुक्त प्रदेश छ । प्रत्येक मौसममा विपद् आउँछ भन्ने अनुमान सबै सरकारलाई छ । तर, विपदको पूर्वतयारीमा कुनै पनि सरकार गम्भीर छैनन्’, राजनीतिक विश्लेषक डा। भोगेन्द्र झा भन्छन् ।
यो पनि पढ्नुहोस
आगलागीले वन र बस्ती खरानी स् सिंहदरबार हाइसन्चोमै
यद्यपि, विपद पछिको बेलामा सबै सहयोगमा जुटने गरेको डा झाको भनाइ छ । उनका अनुसार विभिन्न संस्थाले मधेशमा आउने, आउन सक्ने विपदबारे अनुसन्धान गरेर रिपोर्ट बनाका छन् । तर, त्यसको कार्यान्वयन सरकारले गर्न चाहेका छैनन् ।
उनको बुझाइमा आगलागीले मधेशमा बढी क्षति हुनुको कारण फुसको छानो नै हो । फुसको छानो मुक्त गर्ने सरकार वर्षौंअघि नीति ल्याएपनि त्यसको कार्यान्वयन गर्न चुकेको उनको भनाइ छ ।
घरको संरचना फेरिएपनि त्यस अनुसारको उपकरण सरकारसँग नहुनु, पहिलेजस्तै गाउँमा पोखरी, तालतलैया, इनारमा पानी नहुनुको कारण मधेशमा आगलागी नियन्त्रण गाह्रो भएको मधेश मामिलाका जानकार एवं वरिष्ठ पत्रकार चन्द्र किशोरको तर्क छ ।
‘आगलागि पहिले पनि हुन्थ्यो । गाउँगाउँमा इनार पोखरी थियो । खत्ता हुन्थ्यो । त्यसको पानीले निभाइन्थ्यो । अहिले संरचना बदलियो । पोखरी इनार सुक्यो’, चन्द्रकिशोर भन्छन्, ‘पालिकाहरुमा त के कुनै कुनै जिल्लामा पनि वारुणयन्त्र छैन । यसले आगलागी नियन्त्रणमा चुनौती थपिएको छ ।’
आगलागी नियन्त्रणका सरकारहरुले गम्भीर हुनुपर्ने किशोर सुझाउँछन् । ‘पालिकै पालिकामा नभएपनि कम्तिमा तीनवटा पालिकाको बीचमा एउटा वारुणयन्त्र, प्राविधिक उपकरण चाहिन्छ’, भन्छन्, ‘प्रदेश सरकार तीनवटा पालिकाको बीचमा समन्वय गरेर यसको व्यवस्था गरोस् । विपदको लागि स्टेन्डवाई मेक्यानिजम हुनुपर्यो ।’ साभार अनलाईनखबर