क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङटालाई जिताउन मुस्लिम समुदाय एकजुट
पर्साको परवानीपुरमा नेपाल मुस्लिम संघ पर्साको आयोजनामा बैठक कार्यक्रम सम्पन्न भएको छ। नेपाल मुस्लिम संघ पर्साका अध्यक्ष हबिब मियाँको अध्यक्षतामा सम्पन्न बैठकमा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार अनिल रुङटालाई आगामी निर्वाचनमा विजयी गराउने विषयमा केन्द्रित छलफल गरिएको थियो।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले नेपाली कांग्रेस सधैं समावेशी लोकतन्त्र, सामाजिक न्याय तथा अल्पसंख्यक समुदायको हक–हितको पक्षमा उभिँदै आएको उल्लेख गर्नुभयो। उहाँले उम्मेदवार अनिल रुङटा जनताका दुःख–सुख बुझ्ने, इमानदार र विकासप्रति प्रतिबद्ध नेता भएको बताउँदै सबै समुदायलाई एकताबद्ध भएर कांग्रेसलाई जिताउन आग्रह गर्नुभयो।
नेपाली कांग्रेस पर्साका पूर्व सभापति अजय कुमार द्विवेदीले मधेस, मुस्लिम समुदाय तथा आम नागरिकको अधिकार सुनिश्चित गर्न नेपाली कांग्रेसको ऐतिहासिक योगदान रहेको उल्लेख गर्नुभयो। उहाँले अवसरवाद र व्यक्तिगत स्वार्थका कारण विचार बदल्ने प्रवृत्तिले जनताको विश्वास गुमाउने बताउँदै स्थायित्व र लोकतान्त्रिक मूल्यका लागि नेपाली कांग्रेसको विकल्प नरहेको धारणा राख्नुभयो।

नेपाल मुस्लिम संघ पर्साका अध्यक्ष हबिब मियाँले उम्मेदवार अनिल रुङटा मुस्लिम समुदायका भावना बुझ्ने र सदैव साथ दिने नेता भएको बताउनुभयो। विकास, शिक्षा, स्वास्थ्य र रोजगारीका सवालमा रुङटाको स्पष्ट दृष्टिकोण रहेको उल्लेख गर्दै मुस्लिम समुदाय एकजुट भएर उहाँको समर्थनमा उभिएको उहाँले बताउनुभयो।
उम्मेदवार अनिल रुङटाले सबै समुदायलाई साथमा लिएर क्षेत्रको समग्र विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले मुस्लिम समुदायसहित मधेसी, दलित, महिला तथा युवाको अधिकार सुनिश्चित गर्न नेपाली कांग्रेसको नीति तथा कार्यक्रमअनुसार इमानदार प्रयास गर्ने बताउनुभयो।
कार्यक्रममा मन्तव्य राख्दै मुस्लिम समुदायका सचिव तबरेज मियाँले मधेसी एजेन्डाबाट उदाएका नेता प्रदीप यादवले मधेस आन्दोलनका बेला एमालेको विरोध गरेको स्मरण गराउँदै अहिले व्यक्तिगत स्वार्थका लागि सहिदको इमान बेचेर एमालेमा प्रवेश गरेको आरोप लगाउनुभयो।
बैठकमा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय कुमार द्विवेदी, सचिव इम्तियाज आलम, क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरबिन्द गुप्ता, क्षेत्र नं. २ का क्षेत्रीय सभापति तथा नेपाल मुस्लिम संघका केन्द्रीय उपाध्यक्ष मो. साबुदिन लगायत पार्टीका कार्यकर्ता तथा मुस्लिम संघका जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।