प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टी–२० क्रिकेटमा जीवनज्योति, मनकामना र बीरगन्ज स्कूल विजयी
वीरगञ्ज — प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत पाँचौँ दिन तीन खेल सम्पन्न भएका छन्। सम्पन्न खेलहरूमा जीवनज्योति मावि, मनकामना एकेडेमी र बीरगन्ज स्कूलले प्रभावशाली जित हात पारेका छन्।
पहिलो खेलमा जीवनज्योति माविले रोयल एकेडेमीलाई ६९ रनले पराजित गरेको हो। टस जितेर ब्याटिङ गरेको जीवनज्योतिले कुनै विकेट नगुमाई १३० रन बनायो। जवाफमा रोयल एकेडेमी ६६ रनमै अलआउट भयो। जीवनज्योतिका सागर यादवले ७८ रनको उत्कृष्ट इनिङ खेलेर म्यान अफ द म्याच घोषित भए।
दोस्रो खेलमा मनकामना एकेडेमीले न्यु वेभलाई ११४ रनको फराकिलो अन्तरले पराजित गर्यो। मनकामनाले १५ ओभरमा १ विकेटको क्षतिमा १५५ रन बनायो। जवाफमा न्यु वेभ ९ विकेट गुमाउँदै ४१ रनमै सीमित भयो। ६९ रन बनाएका रैहान आलम म्यान अफ द म्याच बने।
तेस्रो खेलमा बीरगन्ज स्कूलले सफ्फाह आइडियललाई ७७ रनले हरायो। बीरगन्ज स्कूलले १५ ओभरमा ६ विकेटको क्षतिमा १२२ रन बनाएको थियो। जवाफमा सफ्फाह आइडियल ११.३ ओभरमै ४५ रनमा अलआउट भयो। बीरगन्ज स्कूलका अनिष कुमार पटेल ३९ रनसहित म्यान अफ द म्याच घोषित भए।
यसैबीच, प्याब्सन जुनियर फुटबल प्रतियोगिता अन्तर्गत चौथो दिन पनि रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्।
पहिलो खेलमा नवदीप एकेडेमीले नेशनल मोडेल स्कूललाई ३–० गोलले पराजित गर्यो। आशिष साह म्यान अफ द म्याच बने।
दोस्रो खेलमा साउथ जोन र लिटल फ्लावरबीचको खेल बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा साउथ जोनले ४–२ गोलले जित निकाल्यो। साउथ जोनका गोलकिपर नविन यादव म्यान अफ द म्याच घोषित भए।
तेस्रो खेलमा विकन माविले ज्ञानदा एकेडेमीलाई ४–० गोलले पराजित गर्यो। सफ्रोज मियाँ म्यान अफ द म्याच बने। चौथो खेलमा सफल एकेडेमीले गौतम माविलाई १–० गोलले हरायो। सफल एकेडेमीका लक्की चौधरी म्यान अफ द म्याच घोषित भए।
प्रतियोगिताबारे जानकारी प्याब्सन जिल्ला वरिष्ठ उपाध्यक्ष तथा संयोजक सुशीला साहले दिनुभएको हो।