रास्वपा पर्साको सभापतिमा हरि पन्त पुनः निर्वाचित

74

वीरगञ्ज । शनिबारको आन्तरिक विवाद र झडपका कारण स्थगित भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको प्रथम जिल्ला अधिवेशन अन्तर्गतको निर्वाचन प्रक्रिया सोमबार अबेर राति शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

सार्वजनिक गरिएको मतपरिणाम अनुसार रास्वपा पर्साको जिल्ला सभापति पदमा बुद्धिप्रसाद पन्त दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिस्पर्धीलाई फराकिलो मत अन्तरले पाखा लगाउँदै पन्तले जिल्ला कमाण्डमा आफ्नो ‘दोस्रो इनिङ’ सुरक्षित गरेका हुन् ।

रास्वपा पर्साका निर्वाचन संयोजक डा. नन्दन यादव का अनुसार खसेको कुल मतमध्ये विजयी पन्तले १६६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी सुशील साह कानु ले ११८ मत मात्रै प्राप्त गरे । सभापतिमा विजयी पन्त र कानुबिच ४८ मतको अन्तर रहेको छ ।

सभापतिसँगै कार्यसमितिका अन्य मुख्य पदाधिकारी पदहरूमा पनि पन्त प्यानलकै उम्मेदवारहरूले जित निकालेका छन् । कार्यसमितिको उपसभापति पदमा दिलिपकुमार कुर्मी १६२ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी रणदिप श्रीवास्तव ले ११४ मत प्राप्त गरे ।

यसै गरी, पार्टीको जिल्ला सचिव पदमा सुदिशकुमार प्रजापति १६० मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी शिवकुमार साह ले ११६ मत मात्र प्राप्त गरे । यसैगरी सहसचिव पदमा भने कृष्णा पासवान १४९ मतका साथ विजयी भएका छन् । सहसचिवका अर्का उम्मेदवार निरजकुमार साह ले ११३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

अधिवेशनबाट पदाधिकारीबाहेक पाँच जना जिल्ला कार्यसमिति सदस्यहरू समेत निर्वाचित भएका छन् । सदस्य पदका लागि भएको मतदानबाट तुलसा पौडेल अधिकारी १६० मत, प्रियंका कुमारी कुर्मी १५५ मत, कामोध्या चौधरी १३३ मत, पूर्णबहादुर सापकोटा १३१ मत र शशीदेवी थरुनी १०० मत प्राप्त गरी विजयी भएका छन् ।

यसअघि शनिबार वीरगञ्जमा आयोजित जिल्ला अधिवेशनका क्रममा नेतृत्व चयनको विषयलाई लिएर दुई पक्षबिच विवाद र मर्यादा बाहिर गएर कुटाकुट भएपछि निर्वाचन प्रक्रिया एकाएक स्थगित गरिएको थियो । उक्त अप्रिय घटनापछि निर्वाचन संयोजक डा. यादवले आइतबार विशेष विज्ञप्ति जारी गर्दै दिउँसो ३ बजेदेखि वीरगञ्जको क्लासिक ब्याङ्क्वेट मा कडा सुरक्षा घेराभित्र निर्वाचन गराउने नयाँ कार्यतालिका सार्वजनिक गरेका थिए ।

निर्वाचन सम्पन्न भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै डा. यादवले शनिबारको तितो अनुभवलाई बिर्सिँदै नयाँ नेतृत्व चयनका लागि भएको सम्पूर्ण चुनावी प्रक्रिया अत्यन्तै शान्तिपूर्ण, मर्यादित र निष्पक्ष रूपमा सम्पन्न भएको जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.