११३औँ भानु जयन्ती भव्य रूपमा सम्पन्न, कविता वाचनमा नवदीपकी प्रियंका साह द्वितीय

71

वीरगञ्ज, असार ३० — नारायणी वाङ्मय प्रतिष्ठान, पर्साले ११३औँ भानु जयन्ती विविध साहित्यिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। वीरगञ्जस्थित होटल पूजनमा आयोजित कार्यक्रममा साहित्यकार, शिक्षाविद्, प्राध्यापक, विद्यार्थी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिष्ठानका अध्यक्ष प्रोफेसर डा. विशम्भर शर्माको अध्यक्षता तथा वरिष्ठ साहित्यकार प्रोफेसर डा. व्रतराज आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको नेपाली भाषा–साहित्यमा रहेको योगदानबारे चर्चा गरिएको थियो।

प्रमुख अतिथि डा. आचार्यले भानुभक्तद्वारा रचित रामायण, कविता तथा अन्य साहित्यिक कृतिहरू आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी रहेको उल्लेख गर्दै नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धनका लागि नयाँ पुस्तालाई भानुभक्तका कृतिसँग जोड्न आवश्यक रहेको बताए।

कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. दीपक शाक्य, प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशीला शाह, गौतम माध्यमिक विद्यालयका विद्यालय प्रशासक रमेश शर्मा लगायत साहित्य, शिक्षा तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

यसै अवसरमा नारायणी वाङ्मय प्रतिष्ठान र लक्ष्मी समाजको संयुक्त आयोजनामा भानु जयन्ती विशेष कविता वाचन प्रतियोगिता पनि सम्पन्न भएको थियो। प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले भानुभक्त आचार्यका रचना तथा नेपाली साहित्यसम्बन्धी कविता वाचन गर्दै आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

प्रतियोगितामा वीरगञ्जस्थित नवदीप एकेडेमीकी कक्षा १० की छात्रा प्रियंका साह द्वितीय हुन सफल भएकी छन्। एसईई तयारीको व्यस्तताका बीच पनि उत्कृष्ट प्रस्तुति दिँदै उनले आफ्नो साहित्यिक प्रतिभा र आत्मविश्वासको परिचय दिएकी हुन्।

कार्यक्रममा सहभागी वक्ताहरूले भानु जयन्ती नेपाली भाषा, साहित्य र संस्कृतिप्रतिको सम्मान व्यक्त गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै यस्ता साहित्यिक कार्यक्रमले नयाँ पुस्तामा भाषा र साहित्यप्रतिको रुचि बढाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।

Leave A Reply

Your email address will not be published.