गहवामाईको चौथो रथयात्राले वीरगञ्ज गुञ्जायमान, हजारौं भक्तजन सहभागी
वीरगञ्ज, असार ३२
वीरगञ्जको ऐतिहासिक तथा प्रसिद्ध शक्तिपीठ श्री गहवामाई मन्दिरको चौथो रथयात्रा बिहीबार श्रद्धा, भक्ति र उत्साहका साथ भव्य एवं शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको रथयात्रामा यस वर्ष पनि हजारौं श्रद्धालु भक्तजनको उल्लेखनीय सहभागिता रहेको थियो।
बिहान विशेष पूजा–आराधनापछि मन्दिर परिसरबाट सुरु भएको रथयात्रा घण्टाघर, रेलवे रोडको भित्री बाइपास, छपकैया, मुख्य सडक, अस्पताल रोड, मकालु चोक, आदर्शनगर हुँदै पुनः माईस्थान मन्दिर पुगेर समापन गरिएको थियो। रथयात्राभर श्रद्धालुहरूले जय गहवामाईको जयकारा, भजन–कीर्तन तथा धार्मिक उत्साहका साथ सहभागिता जनाएका थिए।
रथयात्रामा पर्साका प्रमुख जिल्ला अधिकारी, प्रतिनिधिसभा सदस्य सुशील साह कानु, युवा नेता सुधिर पटेललगायत विभिन्न राजनीतिक, सामाजिक तथा धार्मिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका हजारौं भक्तजन बिहानैदेखि मन्दिर परिसरमा भेला भई रथयात्रामा सहभागी बनेका थिए। रथयात्रा सुरु हुनुअघि वर्षा भए पनि त्यसले भक्तजनको आस्था र उत्साहमा कुनै असर पार्न सकेन।
रथयात्रालाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्कीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा ट्राफिक प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएका थिए। रथयात्रा मार्गभर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिनुका साथै सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको थियो। ट्राफिक व्यवस्थापनलाई सहज बनाउन विभिन्न स्थानमा वैकल्पिक मार्गको व्यवस्था गरिएको थियो भने सम्पूर्ण कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ।
रथयात्रा सम्पन्न भएपछि आयोजक समितिका सचिव पप्पु गुप्ताले आज साँझ ६ बजेदेखि आयोजना हुने भव्य भजन सन्ध्यामा सहभागी भई माता गहवामाईको दर्शन तथा पुण्य लाभ लिन सम्पूर्ण श्रद्धालुहरूलाई आग्रह गर्नुभयो।
त्यसैगरी, विश्व ज्योतिष महासङ्घका एसिया उपसभापति डा. पुरुषोत्तम दुबेले श्रावण १ गते बिहान ६ बजेदेखि हुने ५६ भोग महापूजा तथा दिउँसो ४ बजेदेखि सुरु हुने विशाल महाप्रसाद भण्डारामा सहभागी हुन भक्तजनलाई आग्रह गर्नुभयो। उहाँले महाप्रसाद ग्रहण गर्नु माता गहवामाईको असीम कृपा प्राप्त गर्नु सरह भएको धार्मिक विश्वास रहेको उल्लेख गर्दै लाखौं श्रद्धालुको सहभागिता रहने कार्यक्रमलाई सभ्य, मर्यादित र व्यवस्थित बनाउन सबैसँग सहयोगको अपिल गर्नुभयो।
आयोजक समितिका अनुसार यस वर्षको गहवामाई रथयात्रा धार्मिक आस्था, सामाजिक सद्भाव, अनुशासन र प्रभावकारी सुरक्षा व्यवस्थासहित सफलतापूर्वक सम्पन्न भएको छ।