इमानदार र निष्पक्ष कार्यशैलीले डीएसपी कार्कीप्रति बढ्यो स्थानीयको विश्वास
वीरगञ्ज, साउन २०
जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीले पर्सा जिल्लाको शान्ति–सुरक्षा, कानुनको प्रभावकारी कार्यान्वयन तथा नागरिक सुरक्षालाई प्राथमिकतामा राखेर निर्वाह गरिरहेको भूमिकाप्रति स्थानीय तहमा सकारात्मक प्रतिक्रिया व्यक्त भइरहेको छ।
सहज, सरल र जिम्मेवार कार्यशैलीका लागि परिचित डीएसपी कार्कीले आफ्नो जिम्मेवारी इमानदारी, निष्पक्षता र व्यावसायिक ढंगले निर्वाह गर्दै आएको भन्दै स्थानीयवासी तथा विभिन्न सामाजिक क्षेत्रका व्यक्तिहरूले उनको कार्यसम्पादनको प्रशंसा गरेका छन्।
विशेषगरी गहवा माई रथयात्रा, हनुमान जयन्तीलगायत हजारौं श्रद्धालु सहभागी हुने धार्मिक कार्यक्रमहरूमा प्रभावकारी सुरक्षा व्यवस्थापन गरी कार्यक्रमलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन उनले खेलेको भूमिकालाई स्थानीयले उल्लेखनीय मानेका छन्। यस्ता संवेदनशील अवसरमा अपनाइएको सुरक्षा सतर्कताले नागरिकमा प्रहरीप्रतिको विश्वास थप मजबुत बनेको स्थानीयहरूको भनाइ छ।
स्थानीयवासीका अनुसार डीएसपी कार्कीले देखाएको समर्पण, निष्ठा, अनुशासन र नागरिकमैत्री व्यवहारले प्रहरी सेवाप्रति सकारात्मक सन्देश प्रवाह भएको छ। आगामी दिनमा पनि यही प्रतिबद्धताका साथ उनले जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।
यसैबीच, उत्कृष्ट कार्यसम्पादन, व्यावसायिक नेतृत्व र नागरिकमैत्री प्रहरी सेवाका आधारमा डीएसपी राजु कार्कीलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट उचित सम्मान वा पुरस्कार प्रदान गरिनुपर्ने आवाज केही सामाजिक अगुवा तथा स्थानीयवासीबाट उठ्न थालेको छ। यद्यपि, यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साले हालसम्म कुनै आधिकारिक निर्णय सार्वजनिक गरेको छैन।