विद्यार्थीको आकर्षक प्रस्तुतिसँगै सगरमाथा एकेडेमीमा जन्माष्टमी विशेष कार्यक्रम
वीरगञ्ज, भदौ १८ । आनन्द पटेल
वीरगञ्ज महानगरपालिका–१२, मुर्लीस्थित सगरमाथा एकेडेमीमा भगवान् श्रीकृष्णको जन्मोत्सव श्रीकृष्ण जन्माष्टमीको अवसरमा विशेष कार्यक्रम आयोजना गरी मनाइएको छ।
कार्यक्रममा विद्यालयमा कक्षा प्ले ग्रुप (पी.जी.) देखि कक्षा १० सम्मका विद्यार्थीहरू भगवान् श्रीकृष्ण तथा राधाको आकर्षक भेषभूषामा सजिएर सहभागी भएका थिए। विद्यार्थीहरूले श्रीकृष्णको पोशाक, मुकुट तथा हातमा बाँसुरी बोकेर भगवान् श्रीकृष्णको स्वरूप प्रस्तुत गरेका थिए भने केही विद्यार्थीहरूले राधाको भेषमा समेत आकर्षक प्रस्तुति दिएका थिए।
कार्यक्रममा विद्यार्थीहरूले भगवान् श्रीकृष्णको जीवन, उहाँले दिनुभएको प्रेम, सत्य, धर्म, कर्तव्य तथा मानवतासम्बन्धी सन्देश प्रस्तुत गर्दै श्रीकृष्ण जन्माष्टमीको धार्मिक तथा सांस्कृतिक महत्वबारे जानकारी गराएका थिए।
कार्यक्रममा कक्षा ९ का विद्यार्थी कृष्ण साहले विशेष प्रस्तुति दिएका थिए। कार्यक्रमको प्राविधिक व्यवस्थापनमा समेत कक्षा ९ का विद्यार्थीहरूको सक्रिय भूमिका रहेको थियो।
कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक सञ्जीव यादवले गरेका थिए। उनले कार्यक्रमलाई व्यवस्थित तथा रोचक ढंगले सञ्चालन गर्दै श्रीकृष्ण जन्माष्टमीको धार्मिक तथा सांस्कृतिक महत्वबारे प्रकाश पारेका थिए।
कार्यक्रमलाई सफल बनाउन कक्षा ९ का विद्यार्थीहरूको विशेष सहयोग रहेको विद्यालयले जनाएको छ। कार्यक्रममा विद्यार्थीका अभिभावकहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। अभिभावकहरूले विद्यार्थीहरूको प्रस्तुति अवलोकन गर्दै कार्यक्रमप्रति खुशी व्यक्त गरेका थिए।
विद्यालय परिवारका अनुसार यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउनुका साथै उनीहरूलाई संस्कार, संस्कृति, परम्परा र मौलिक पहिचानसँग जोड्न महत्वपूर्ण भूमिका खेल्छ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले “प्रेम, सत्य, धर्म र कर्तव्यको मार्गमा अघि बढौँ” भन्ने सकारात्मक सन्देश दिएका थिए।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा सगरमाथा एकेडेमी परिवारले सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा शुभेच्छुकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।