जमालपुरमा पहिलो अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन, नेपालसहित पाँच देशका पत्रकार सहभागी

66

जमालपुर (मुंगेर), असोज ६ । 

जमालपुरमा पहिलोपटक अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन सम्पन्न भएको छ। मारवाडी धर्मशाला रोडस्थित सिद्धिविनायक म्यारिज हल परिसरमा अल इन्डिया जर्नलिस्ट युनियन भारतको आयोजनामा सम्मेलन सम्पन्न भएको हो।

सम्मेलनमा भारतका विभिन्न स्थानका साथै नेपाल, बंगलादेश, श्रीलंका र भुटानबाट समेत पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रममा पत्रकारितामा देखिएका बदलिँदा चुनौती, लोकतन्त्रमा सञ्चारमाध्यमको भूमिका तथा समाजको विकासमा पत्रकारिताको जिम्मेवारीलगायत विषयमा गम्भीर छलफल गरिएको थियो।

सम्मेलनको उद्घाटन राज्यसभा सांसद डा. भीम सिंह, मुंगेरका विधायक कुमार प्रणय, मुख्य पार्षद पार्वती देवीलगायत देश–विदेशबाट आएका वरिष्ठ पत्रकार तथा अतिथिहरूले संयुक्त रूपमा गरेका थिए। कार्यक्रमको अध्यक्षता अल इन्डिया जर्नलिस्ट युनियन भारतका राष्ट्रिय अध्यक्ष रञ्जित सम्राटले गरेका थिए भने सञ्चालन अंशु अवस्थीले गरेका थिए।

कार्यक्रममा विशेष अतिथिका रूपमा सार्क पत्रकार मञ्च (एसजेएफ) इन्टरनेशनलका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, सार्क जर्नलिस्ट फोरम इन्डिया च्याप्टर बिहारका अध्यक्ष डा. शशिभूषण कुमार, सार्क जर्नलिस्ट फोरमका प्रदेश अध्यक्ष महमद सदाबलगायतको सहभागिता रहेको थियो।

सम्मेलनका क्रममा पत्रकारिता तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो। राजु लामा, डा. शशिभूषण कुमार, महमद सदाब, अभिलास गुप्ता, पवन साह, अरुण गुप्ता, रुद्र सुवेदी, आरिफ अन्सारी, अजमत अल्लीलगायतलाई दोसल्ला, मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।

सम्मेलनमा सहभागी नेपाल, भारत, बंगलादेश, श्रीलंका र भुटानका पत्रकारहरूले आपसी अनुभव आदानप्रदान गर्दै पत्रकारितामा संवाद, सहकार्य र अन्तरदेशीय सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

जमालपुरमा पहिलोपटक आयोजित अन्तर्राष्ट्रिय पत्रकार सम्मेलनले दक्षिण एसियाका विभिन्न मुलुकका पत्रकारलाई एउटै मञ्चमा जोड्दै पत्रकारिताका समसामयिक विषयमा विचार आदानप्रदान गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.