छठ पर्वका लागि जगरनाथपुरमा बृजेश्वर चौधरीद्वारा निःशुल्क चुना तथा अबिर वितरण

30

पर्सा, कात्तिक २८ आनन्द पटेल ।

छठ पर्वको अवसरमा पर्साको जगरनाथपुर गाउँपालिकामा छठ घाट तथा गाउँटोलको सरसफाइ र सजावटका लागि बृजेश्वर प्रसाद चौधरीले निःशुल्क चुना तथा अबिर वितरण गर्नुभएको छ।

जगरनाथपुर गाउँपालिका–४ सुहपुर स्थित हुलाकी सडकमा रहेको आफ्नै घरको प्राङ्गणबाट चौधरीले शनिबार बिहानैदेखि गाउँपालिकाका विभिन्न गाउँटोलका लागि चुना तथा अबिर वितरण गर्नुभएको हो।

गाउँपालिकाका ६ वटै वडाका २८ गाउँटोलमा छठ पर्वलाई व्यवस्थित, स्वच्छ र आकर्षक बनाउन आवश्यकता अनुसार सामग्री उपलब्ध गराउने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको हो।

चौधरीका अनुसार हालसम्म अधिकांश गाउँटोलमा चुना तथा अबिर पुर्‍याइसकिएको छ भने बाँकी रहेका गाउँटोलमा समेत शनिबार बेलुकासम्म वितरण गर्ने प्रयास भइरहेको छ।

गाउँपालिकाका सबै २८ वटै गाउँटोलसम्म निःशुल्क सेवा पुर्‍याउने आफ्नो चाहना रहेको चौधरीले बताउनुभयो।

छठ पर्वको अवसरमा गाउँटोल तथा छठ घाटको सजावटमा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको यस पहललाई स्थानीयस्तरमा सामाजिक सहयोगको प्रयासका रूपमा हेरिएको छ।

Leave A Reply

Your email address will not be published.