गाई संरक्षणमा सबै पक्षको जिम्मेवारी आवश्यक : सांसद सुशील साह कानु

63

वीरगञ्ज । वीरगञ्ज जीतपुर गौशालाको १२०औँ गोपाष्टमी उत्सव तथा साधारण सभा वीरगञ्ज महानगरपालिका–२४ रामगढवामा भव्य रूपमा सम्पन्न भएको छ।

धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको उक्त कार्यक्रममा गाईको संरक्षण, संवर्द्धन तथा हिन्दू धार्मिक परम्पराको जगेर्ना गर्नुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रमका प्रमुख अतिथि पर्सा निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य सुशील साह कानुले गाईको संरक्षण गर्नु धार्मिक आस्थासँगै नेपाली समाजको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण गर्नु पनि भएको बताए।

उनले हिन्दू धर्ममा गाईलाई आस्था र श्रद्धाको प्रतीकका रूपमा सम्मान गरिँदै आएको उल्लेख गर्दै यसको संरक्षण तथा संवर्द्धनका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने धारणा व्यक्त गरे। गौशालाजस्ता ऐतिहासिक तथा धार्मिक संस्थाले समाजमा धार्मिक, सांस्कृतिक र सामाजिक चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनको भनाइ थियो।

सांसद कानुले वीरगञ्ज जीतपुर गौशालाले लामो समयदेखि गाईको संरक्षण तथा धार्मिक परम्पराको निरन्तरताका लागि पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै संस्थाको उत्तरोत्तर प्रगति र सफलताको शुभकामना व्यक्त गरे। यस्ता ऐतिहासिक संस्थाको संरक्षण र विकासमा स्थानीय समुदाय, समाजसेवी तथा सरोकारवालाको सहयोग आवश्यक रहेको उनले बताए।

कार्यक्रममा गौशालाका पदाधिकारी नरेन्द्र साह, नुतन सरावगीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

गौशालाको १२०औँ गोपाष्टमी उत्सव तथा साधारण सभाले संस्थाको ऐतिहासिक महत्त्वलाई स्मरण गराउँदै गाईको संरक्षण तथा धार्मिक संस्कृति र परम्पराको निरन्तरताका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेको थियो।

Leave A Reply

Your email address will not be published.