भजन–कीर्तन, प्रभातफेरी र लङ्गर (प्रसाद) वितरण गर्दै वीरगञ्जमा गुरु नानक जयन्ती सम्पन्न

53

वीरगञ्ज, मंसिर ८ आनन्द पटेल।

वीरगञ्जस्थित गुरुद्वारा गुरु नानक सत्संगमा पाँच दिनदेखि जारी गुरु नानक जयन्ती विशेष कार्यक्रम मंगलबार भजन–कीर्तन तथा लङ्गर (प्रसाद) वितरणसँगै सम्पन्न भएको छ।

गुरु नानक देवजीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा पाँच दिनसम्म निरन्तर कीर्तन, प्रभातफेरी तथा लङ्गर (प्रसाद) वितरणलगायतका धार्मिक कार्यक्रम सञ्चालन गरिएको थियो। मंगलबार विशेष भजन–कीर्तन सहित श्रद्धालुहरूलाई लङ्गर (प्रसाद) वितरण गर्दै कार्यक्रमको समापन गरिएको हो।

कार्यक्रममा विभिन्न जातजाति तथा धर्मका हजारौँ श्रद्धालुहरूको सहभागिता रहेको थियो। उनीहरूले गुरुद्वारामा पूजापाठ तथा भजन–कीर्तनमा सहभागी हुँदै लङ्गर (प्रसाद) ग्रहण गरेका थिए।

गुरुद्वारा समितिका उपाध्यक्ष अजित पाल सिंहका अनुसार गुरु नानक जयन्ती सिख समुदायका लागि निकै ठूलो पर्व हो। यो पर्व विश्वभर श्रद्धा र भक्तिपूर्वक मनाउने गरिन्छ।

उनले गुरु नानकको शिक्षाले सबै धर्म र समुदायका मानिसलाई समान व्यवहार गर्न तथा मानवता, सेवा र भाइचाराको सन्देश दिने बताए। यस पर्वमा जातजाति, धर्म तथा छुवाछुतको कुनै भेदभाव नरहेको उल्लेख गर्दै सबै धर्मका मानिसले गुरुद्वारामा आएर पूजापाठ, भजन–कीर्तन तथा लङ्गर (प्रसाद) ग्रहण गर्न सक्ने उनले बताए।

पाँच दिनसम्म चलेको कार्यक्रममा विभिन्न समुदायका मानिसहरूको उल्लेख्य सहभागिताले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी भाइचाराको सन्देश दिएको समितिका उपाध्यक्ष सिंहको भनाइ छ।

यसैबीच, गुरु नानक जयन्तीको अवसरमा मंगलबार साँझ गुरुद्वारा परिसरमा दीप प्रज्वलन कार्यक्रमसमेत आयोजना गरिने समितिका उपाध्यक्ष सिंहले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.