विश्वकप लिग टु अन्तर्गत नेपाल र स्कटल्याण्ड खेल्दै

110

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भइरहेको सिरिजमा नेपालले आफ्नो दोस्रो खेल स्कटल्याण्डविरुद्ध खेल्दैछ । खेल ढालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ ।

नेपाल, स्कटल्याण्ड र अमेरिका सम्मिलित यस सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग ३ विकेटले पराजित भएको थियो । स्कटल्याण्डले भने आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।

स्कटिङ टोली लयमा छ भने नेपालले लिग टु मा पछिल्लो समय खराब प्रदर्शन गरिरहेको छ । पहिलो खेलमा राम्रो ब्याटिङ गर्दै २८६ रन बनाए पनि नेपालले स्कोर डिफेन्ड गर्न सकेन ।

नेपाल लिग टु मा ७ खेल यता जितविहीन छ । २०२४ फेब्रुअरीमा घरेलु मैदानमा भएको लिग टु को पहिलो सिरिजमा नेपालले आफ्नो दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो । त्यो नै नेपालको एक मात्र जित हो । त्यस सिरिजमा त्यसपछिका दुई खेल हारेको नेपाल गत महिना क्यानडामा भएको सिरिजमा जितविहीन बन्यो ।

अहिलेसम्म ९ खेलबाट जम्मा ३ अंक रहेको नेपाल ८ टोली सम्मिलित लिग टु को सातौं स्थानमा छ । नेपालले ९ मध्ये ७ खेल हारेको छ भने एक खेल वर्षाका कारण रद्द हुँदा नेपालले १ अंक पाएको थियो ।

हेड टु हेड

नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म ओडीआईमा ६ खेल भएका छन् । सबै खेल अघिल्लो लिग टु साइकलमा भएको थियो । जहाँ नेपाल र स्कटल्याण्डले दुवैले समान ३ खेल जितेका थिए ।

नेपालले स्कटल्याण्डलाई पछिल्लो दुई खेलमा कीर्तिपुरमा पराजित गरेको थियो ।

२०२२ जुलाईमा स्कटल्याण्डमै भएको पहिलो खेलमा नेपालले घरेलु टोलीलाई ५ विकेटले हराएको थियो । त्यसपछि अर्को खेलमा नेपाल ८ विकेटले पराजित भयो ।

लिग टु अन्तर्गत नै २०२२ डिसेम्बरमा नामिबियामा भएको खेलमा नेपाल ३ विकेट र ८ विकेटले पारजित भएको थियो ।

२०२३ फेब्रुअरीमा नेपालमै भएको लिग टु मा भने नेपालले सानदार प्रदर्शनै गर्दै स्कटल्याण्डलाई दुवै खेलमा हराएको थियो । नेपालले स्कटल्याण्डलाई पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ३ विकेटले पराजित गरेको थियो ।

Leave A Reply

Your email address will not be published.