आगामी पौष १ गते देखि वीरगञ्ज भन्सारमा जाँचपासका लागि थप दुई घण्टा सेवा विस्तार गर्ने निर्णय
भन्सार जाँचपासको प्रक्रियालाई सहज बनाउन दैनिक थप दुई घण्टा वीरगञ्जका दुवै भन्सार कार्यालयको सेवा विस्तार गर्ने भएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको व्यापार सहजीकरण समितिको बैठकले आगामी पौष १ गतेदेखि वीरगञ्ज भन्सारमा वस्तु तथा सामानको जाँचपाँस र यात्रुको जाँचपासका लागि थप दुई घण्टा सेवा विस्तार गर्ने निर्णय गरेको हो ।
“भन्सार जाँचपासको प्रक्रिया अहिले बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म मात्रै हँुदै आइरहेको थियो । यसले भन्सार जाँचपास गर्ने व्यवसायी र यात्रु दुवैलाई मर्का परेको गुनासो आएको थियो”, उनले भने, “व्यापार सहजीकरणको बैठकले बिहान ५ बजेदेखि बेलुका ११ बजेसम्म भन्सारको सेवा विस्तारित गर्ने निर्णय गरेको छ ।” वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले थप दुई घण्टा विस्तारित समयमा बैंक, क्वारेन्टाइनलगायत सबै सेवा थप हुने जानकारी दिए । वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी र सिर्सियास्थित सुख्खाबन्दरगाह भन्सार कार्यालय छन् ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले भन्सारको सेवा थप भएसँगै भन्सार जाँचपास गर्ने व्यापारी तथा व्यवसायीलाई सहज हुने बताए ।