पर्सा ल्याएका रास्वपाका अध्यक्ष रवि लामिछानेको बयान सुरु

29

वीरगन्ज– सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि पर्सा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का अध्यक्ष रवि लामिछानेको बयान सुरू भएको छ। सरकारी वकिलको कार्यालय पर्सामा उनको बयान सुरू भएको हो।

बयानका लागि लामिछानेलाई बिहान सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको थियो। बयान सकिएपछि लामिछानेलाई पुनः कास्की पठाउने प्रहरीको तयारी छ। कास्की हिरासतमा रहेका लामिछानेलाई सोमबार वीरगन्ज ल्याइएको हो।

वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनका विषयमा अनुसन्धान गर्न पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई वीरगन्ज ल्याइएको हो।

सानो पाइला सहकारीको बचत अपचलनको विषयमा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई गत बुधबार पर्सा जिल्ला अदालतले अनुमति दिएको थियो। लामिछाने प्रबन्ध निर्देशक रहेकै बेला गोर्खा मिडिया नेटवर्क प्रालिमा सानो पाइला सहकारीबाट करिब ८ करोड रुपैयाँ गएको थियो।

सहकारीको रकम हिनामिना प्रकरणमा कार्तिक २ गतेदखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई सोमबार हवाई मार्गबाट पोखराबाट काठमाडौं लगेर त्यहाँबाट पनि हवाई मार्ग हुँदै बाराको सिमरा ल्याएर सिमराबाट स्थलमार्ग हुँदै सोमबार साँझ वीरगन्जस्थित जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको हो।

सानो पाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमै पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई भने सोमबार बिहानै पोखराबाट स्थलमार्ग हुँदै वीरगन्ज ल्याइएको थियो।

दुवैजनालाई आइतबार बेलुका पोखराबाट गाडीको बाटो हुँदै सोमबार बिहान वीरगन्ज ल्याइएको हो। बयान सकेर उनीहरूलाई कास्की पठाइसकेको छ।

सहकारीको बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार ग्लोबल आईएमई बैंकमा रहेको गोर्खा मिडियाको खातामा सानो पाइलाबाट सात पटक गरी आठ करोड ५८ लाख ४४ हजार रुपैयाँ जम्मा गरिएको थियो। २०७८ साउन १९ मा एकै दिन चार करोड ९१ लाख ९४ हजार रुपैयाँ सारिएको थियो। अरू रकम २०७८ वैशाख ५ देखि २०७९ साउन १९ सम्ममा सारिएको हो। संसदीय छानबिन समितिलाई दिएको बयानअनुसार लामिछाने २०७७ माघ १ देखि ०७९ असार १ सम्म गोर्खा मिडियामा प्रबन्धक निर्देशक थिए।

एक वर्षअगाडि सानो पाइला सहकारीका १ सय ७९ बचतकर्ताले संस्थाका सञ्चालक समिति, लेखा समिति तथा कर्मचारीविरुद्ध उजुरी दिएका थिए। त्यतिबेला प्रहरीले पर्याप्त अनुसन्धानै नगरी हतारमा मुद्दा अघि बढाएको बचतकर्ताको गुनासो छ। प्रहरी अनुसन्धानपछि पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरिएकामा सानो पाइला सहकारीकी पूर्वउपाध्यक्ष नेहा पौडेल गत साउन २१ मा एक करोड १० लाख रुपैयाँ धरौटीमा रिहा भइन्। सहकारीका कर्मचारी राधेचन्द्र यादव पनि ३५ लाख रुपैयाँ धरौटीमा रिहा भए।

प्रहरीका अनुसार सानो पाइला सहकारीका अध्यक्ष अनन्तबाबु राई, सचिव देवेन्द्रबाबु राई, प्रबन्धक असरफ अली सिद्धिकी, संरक्षक गीतेन्द्र बाबु ९जीबी० राईलगायत ११ जना फरार छन्। कोषाध्यक्ष कुमार रम्तेल भने पुर्पक्षका लागि थुनामा छन्।

  • सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको थुनामा कार्तिक २ गतेदेखि लामिछानेलाई अनुसन्धानका लागि यसअघि रुपन्देही ,काठमाडौं र चितवनका जिल्ला प्रहरी कार्यालयमा लगिएको थियो।

Leave A Reply

Your email address will not be published.