अबको नीति, कार्यक्रम र बजेटमा मधेशलाई विशेष व्यवस्था हुन्छ- प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा मधेशका लागि विशेष व्यवस्था गर्ने बताउनुभएको छ ।
शनिबार धनुषा जिल्ला सबैला नगरपालिका वडा नम्बर ४ र सिरहा जिल्ला कल्याणपुर नगरपालिका वडा नम्बर ५ जोडने कमला नदी पुल निर्माण कार्यको शिलान्यास गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले मधेशमा विकास, निर्माणको काममा गति ल्याउन आफँै सो पुलको शिलान्यास कार्यक्रममा उपस्थित भएको पनि बताउनुभयो । मधेश र मधेशी जनताको समृद्धि नभई मुलुकको समृद्धि नहुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसका लागि आफूले सक्दो सहयोग गर्ने आश्वासन समेत दिनुभयो ।
त्यस अवसरमा उहाँले मधेशबाट चुनाव लडेर दोस्रो पटक प्रधानमन्त्री भई आफूले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन गर्ने अवसर प्राप्त गरेकोमा गर्व लाग्ने गरेको पनि बताउनुभयो । प्रधानमन्त्री दाहालले मधेबमा कृषि क्षेत्रको विकासका लागि आवश्यक सिंचाई, बीउबिजन, मल आदिको आवश्यक व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सो पुलको निर्माण कार्यमा ढिलाई नगर्न पनि ठेकेदार कम्पनीलाई निर्देशन दिनुभयो । सो पुलको निर्माण कार्यमा निगरानी राख्न पनि उहाँले स्थानीय सरकारलाई समेत आग्रह गर्नुभएको थियो ।
साभार ईमेज खबर अनलाईनबाट