आजदेखि बडादशैं : घर–घरमा पूजा, जमरा राख्ने परम्परा निभाइयो

80

वीरगञ्ज । हिन्दुहरूको महान् पर्व बडादशैं आज आश्विन शुक्ल प्रतिपदादेखि प्रारम्भ भएको छ। पन्ध्र दिनसम्म चल्ने यस पर्वको आज पहिलो दिन घटस्थापना गरी घर–घरमा देवी दुर्गाको आह्वानसहित पूजा आराधना सुरु गरिएको छ।

विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित दुर्गा देवीको पूजाआराधना आज बिहानैदेखि सुरु भएको छ। पूजा कोठा वा दशैं घरमा गोबरले लिपपोत गरी चोखो स्थानमा बालुवा वा माटो राखी त्यसमाथि यव (जौ) रोप्ने परम्परा अनुसार आज जमरा राखिएको छ। दुर्गा देवीको प्रिय वस्तु मानिने यव अङ्कुरलाई विजयादशमीका दिन टीकासहित ग्रहण गर्ने गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार जमरामा केवल जौ रोप्ने शास्त्रीय परम्परा भए पनि कतिपय परिवारमा कुल परम्परा अनुसार अन्य अन्न पनि मिसाएर रोप्ने चलन रहेको छ। आयुर्वेदमा जमरालाई औषधीय दृष्टिले समेत उपयोगी मानिन्छ।

समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार आज बिहान ९ः१३ बजे घटस्थापना गर्ने साइत थियो। सूर्योदयकालमा प्रतिपदा परेको दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यता अनुरूप आज घटस्थापना गरिएको हो।

नवरात्रभर दुर्गा देवीका तीन रूप—महाकाली, महालक्ष्मी र महासरस्वतीको आह्वान गरी पूजा गरिन्छ। महाकालीलाई शक्तिको प्रतीक, महालक्ष्मीलाई धनधान्य र ऐश्वर्यको प्रतीक तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा वैदिककालदेखि चली आएको छ।

नवरात्रको प्रत्येक दिन एक–एक देवीको आराधना गरिन्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गर्ने प्रचलन छ। यिनैलाई संयुक्त रूपमा नवदुर्गा भनिन्छ।

धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमका अनुसार दुर्गा पूजा कुनै जात वा धर्म विशेषको मात्र नभई सम्पूर्ण मानव जातिलाई आसुरी प्रवृत्तिबाट जोगाउने दैवी शक्तिको प्रतीकका रूपमा गरिएको आराधना हो।

यस वर्षको विजयादशमी असोज १६ गते परेको छ। देवी विसर्जनको साइत बिहान ९ः२३ बजे र टीका प्रसाद ग्रहण गर्ने उत्तम साइत बिहान ११ः५३ बजे रहेको समितिले जनाएको छ। विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट देवीको प्रसाद ग्रहण गर्ने र महालक्ष्मीको व्रत बसेर धनधान्यको कामना गर्ने परम्परा रहिआएको छ।

परम्पराअनुसार काठमाडौंको हनुमानढोका दरबारस्थित दशैं घरमा पनि आजैदेखि घटस्थापना गरी पूजा सुरु गरिएको छ। दरबार हेरचाह अड्डाका प्रमुख काजीमान प्याकुरेलका अनुसार घटस्थापनापछि दैनिक बलि दिइ विशेष पूजा गरिन्छ। महानवमीका दिन कोतमा ५४ बोका र ५४ राँगाको बलि दिने परम्परा रहिआएको छ।

दशैंलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा पनि लिइन्छ। रोजगारी, अध्ययन वा अन्य कामका कारण घरभन्दा बाहिर रहेका मानिस यस अवसरमा घर फर्की परिवारसँग मिलेर पर्व मनाउने गर्छन्। यससँगै शैक्षिक संस्थाहरूले पनि दशैंका लागि बिदा दिन थालेका छन्।

Leave A Reply

Your email address will not be published.