प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि १ लाख ३३ हजारभन्दा बढी ‘निर्वाचन प्रहरी’ भर्ना सुरु
२४ पौष, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि सरकारले ‘निर्वाचन प्रहरी’ भर्ना प्रक्रिया सुरु गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग अन्तर्गत भर्ना छनोट शाखाले आज सूचना जारी गर्दै १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी का लागि आवेदन आह्वान गरेको हो।
सूचनाअनुसार भर्नाका लागि आवेदन पुस २५ गते शुक्रबारदेखि फागुन १ गतेसम्म दिन सकिनेछ। आवेदन देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत बुझाउन सकिने व्यवस्था गरिएको छ। बिदा पर्ने दिनमा समेत आवेदन लिइने जनाइएको छ। आवेदन दर्ता भएपछि मात्रै छनोट प्रक्रिया अगाडि बढाइनेछ।
यो भर्ना प्रक्रियाले निर्वाचन सुरक्षालाई सुदृढ बनाउनुका साथै देशभरका युवालाई अस्थायी रोजगारीको अवसर प्रदान गर्ने उद्देश्य लिएको छ।
प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले का अनुसार भर्नाका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ। साथै फौजदारी कसुरमा सजाय नपाएको, नैतिक पतन नभएको तथा शारीरिक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण हुनुपर्ने मापदण्ड तोकिएको छ।
पूर्वसुरक्षाकर्मी, यसअघि म्यादी प्रहरीका रूपमा खटिएका व्यक्ति, छिमेकी मुलुकका सुरक्षा निकायबाट अवकाश प्राप्त तथा योग्य उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
छनोट भएका निर्वाचन प्रहरीलाई १० दिनको तालिम दिई करिब एक महिनासम्म निर्वाचन सुरक्षामा परिचालन गरिनेछ। उनीहरूले ४० दिनको तलब प्राप्त गर्नेछन्, जुन प्रहरी जवान सरह हुनेछ। साथै पोसाक, चार दिनको खाजा भत्ता, तयारी भत्ता र रासन सुविधा समेत उपलब्ध गराइनेछ।
यसअघि ‘म्यादी प्रहरी’ भनेर चिनिने जनशक्तिलाई यसपटक पहिलो पटक ‘निर्वाचन प्रहरी’ नाम दिइएको प्रहरीले जनाएको छ।