थारु संस्कृति संरक्षणको सन्देश सहित माघी खिचडी महोत्सव सम्पन्न

20

वीरगञ्ज, माघ १ ।

“पुर्खाको संस्कृति, पुर्खाको भेषभूषा र भाषा—नयाँ पुस्ताको पहिचान, पहुँच र प्रतिनिधित्वको अभिलाषा” भन्ने मूल नाराका साथ माघी (खिचडी) मूल समारोह समिति पर्सा, वीरगञ्जको आयोजनामा माघे पर्व तथा थारु संवत् २६५० औँ नयाँ वर्षको अवसरमा खिचडी माघी महोत्सव भव्य रूपमा सम्पन्न भएको छ।

आवासनगरस्थित स्विमिङ पूल परिसरमा सम्पन्न महोत्सव माघी मूल समारोह समिति वीरगञ्ज पर्साका कार्यक्रम संयोजक जङ्गबहादुर चौधरीको सभापतित्व तथा लक्ष्मी नारायण बन्ठाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। प्रमुख अतिथि बन्ठाले आधुनिक प्रविधिको बढ्दो प्रभावसँगै भाषा, संस्कार र संस्कृतिहरू लोप हुँदै गएको उल्लेख गर्दै यस्ता पर्व तथा कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्नु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

माघी खिचडी मूल समारोह समिति पर्साले हरेक वर्ष आदिवासी थारु समुदायको नयाँ वर्षको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्दै आएकोमा यस वर्ष पनि थारु समुदायको भाषा, संस्कृति, कला र पहिचान संरक्षण गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको समितिले जनाएको छ। प्रमुख अतिथि बन्ठाले पुर्खाबाट प्राप्त कला, संस्कृति, भाषा, नृत्य र परिकारहरूको संरक्षण तथा जगेर्ना गर्ने जिम्मेवारी नयाँ पुस्ताको समेत भएको उल्लेख गर्नुभयो। उहाँले कार्यक्रममा सहभागी विभिन्न व्यक्तित्वहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभयो।

महोत्सवमा साउथजोन माध्यमिक विद्यालयका प्रिन्सिपल तथा प्याब्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरी, ठाकुराम बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख कृपासिन्धु चौधरी, मधेस प्रदेशका मन्त्री शंकर चौधरी, थारु फाउन्डेसनका प्रकाश थारु, थारु शिक्षक समिति तथा मेलमिलाप थारु परिवारका विकास चौधरी, अधिवक्ता अमयदास थारु, फनिज पर्साका अध्यक्ष मनेशकुमार लायो मगर, जितपुर–सिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल, थारु पत्रकार सङ्घका अध्यक्ष शम्भु महतो थारु, प्रभु अस्पतालका सञ्चालक डा. लक्ष्मी थापा लगायतले आ–आफ्नो धारणा तथा शुभकामना व्यक्त गर्नुभयो।

महोत्सवमा थारु समुदायका विभिन्न सांस्कृतिक नृत्य, सामाचकेवा, झम्टा, पूर्वी थारु नाच, बालबालिकाद्वारा गीत–नृत्य तथा बाल कला प्रदर्शनी प्रस्तुत गरिएको थियो। साथै घोङ्गी, केकडा, माछा, परेवा, हाँस, कुखुरा, चिचर लगायत थारु परिकारहरूको प्रदर्शनी तथा स्टलहरू राखिएका थिए।

कार्यक्रममा दुई महिलासहित २० जनाले रक्तदान गरेका थिए। सांस्कृतिक संयोजक विजया ओझैया तथा सुरक्षा संयोजक मनोज चौधरीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।

Leave A Reply

Your email address will not be published.