प्रजातन्त्र दिवस तीन दिनसम्म देशभर मनाइने, टुँडिखेलमा मूल समारोह
काठमाण्डौ – नेपालमा राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले तीन दिनसम्म राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने भएको छ। यस वर्ष फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरिने निर्णय भएको हो।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले मूल समारोह समिति गठन गरेको छ। समितिमा प्रधानमन्त्री अध्यक्ष रहने, मन्त्रीहरू, काठमाडौँ उपत्यकाका सबै मेयर, सरकारका मुख्यसचिव, प्रधानसेनापति, सचिवहरू, प्रहरी र सुरक्षा निकायका प्रमुखहरू सदस्य रहेका छन्। गृह मन्त्रालयका सचिव समितिका सदस्यसचिव हुनेछन्।
निर्णयअनुसार तीन दिनसम्म देशभरका विभिन्न स्थान र विदेशका नेपाली दूतावासमा कार्यक्रम सञ्चालन हुनेछ। मूल समारोह सैनिक मञ्च, टुँडिखेलमा आयोजना गरिनेछ।